विवाहमा भोज खाएपछि तनहुँमा ४१ जना विरामी भएका छन् । भानु नगरपालिका–३, खहरेका धनराज श्रेष्ठको घरमा उनको छोराको भात खुवाइको अवसरमा भोजा खाएकाहरु विरामी भएका हुन् ।
स्थानीयवासीले विहिबार भोजमा माछा, कुखुराको मासु, केराउको तरकारी, सलादलगायत खाएका थिए । भानु नगरपालिका–३ का वडाध्यक्ष दलनारायण श्रेष्ठले माछा खाएका मात्रै बिरामी परेको बताए ।
बिरामी परेका स्थानीयवासीलाई झाडापखाला लाग्ने, टाउको दुख्ने, ज्वरो आउने लक्षण देखापरेको छ । बिरामीमध्ये तीनलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ भने अन्य बिरामीको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेका प्रहरी निरीक्षक नीरज डाँगीले जानकारी दिए ।
खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँका प्रमुख शिवजी बरालले डुम्रे बजारको एक पसलबाट माछा खरीद गरी लगिएको र माछाको विषादीका कारण स्थानीयवासी बिरामी परेको हुनसक्ने बताउँछन् । घटनास्थल पुगेर खानेपानी, माछाको परीक्षणका लागि नमूना सङ्कलन गरेको उनले जानकारी दिए ।




