मदन भण्डारी जस्तै हामी पनि मारिन सक्छौँ : प्रचण्ड

सत्तारुढ दलका नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मदन भण्डारी मारिए जस्तै आफुहरु पनि मारिन सक्ने बताएका छन् । उनले मदन भण्डारी र जीवराज आश्रितको नियोजित हत्या भएको बताउँदै उनले आफुहरु पनि मारिन सक्ने बताएका हुन् । आज शनिबार राजधानीमा मदन भण्डारीको ६८ औं जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले मदन भण्डारीको हत्यापछि २०५८ सालमा भयानक घटनाका रुपमा दरबार हत्याकाण्ड मच्चाइएको बताए ।

अहिले पनि त्यस्ता हत्याकाण्ड रोक्न सक्ने क्षमता विकास नभएको भन्दै उनले भने “तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी ४५ वर्षकै उमेरमा मारिए, हामी मारिन सक्छौंँ” । उनले मदन भण्डारीको हत्या भयानक डिजाईन गरेर भएको दाबी गरे । उनले आफुहरु अहिले सरकार भए पनि यही नै हत्यारा हो भनेर किटान गरेर प्रमाण देखाउँन नसकेको बताए ।

उनले भण्डारीको हत्यारा विदेशी शक्ति हो कि जस्तो लाग्छ। स्वदेशी तत्व हो कि जस्तो लाग्ने तर प्रमाण नभएको उनको भनाई छ ।  उनले भने “हामी सरकारमा छौँ  तर हत्यारा फलानो हो भनेर किटेर भन्ने प्रमाण प्रस्तुत गर्न सकेका छैनौँ । चालकलाई जोगाउन सकिएको भए पनि केही प्रमाण त खुल्थ्यो कि ” ।

उनले अहिले मदन भण्डारीको सच्चा उत्तराधिकारीको रूपमा प्रधानमन्त्री केपी शर्मा ओली र आफु रहेको दाबी गरे । साथै दरबार हत्या काण्डको बारेमा पनि बोल्दै उनले दरबार हत्या काण्डको प्रमाण जुटाउँन नसकेको बताए । उनले आफु पहिलो पटक प्रधानमन्त्री भएपछि नारायणहिटीमा उभिएर दरबार हत्याकाण्डको यथार्थ पत्ता लगाइछाड्छौंँ भनेको तर अहिलेसम्म पनि त्यसको यर्थाथ बाहिर ल्याउँन नसकिएको उनले स्वीकार गरे ।