ताजा समाचार

असार १४ गते २०७६

नारी शक्तिमा सित्तैमा भिआइए जाँच

पोखरा १७ का ८० महिलाको शनिबार सित्तैमा पाठेघरको मुखको क्यान्सर पत्ता लगाउने जाँच (भिआइए) गरिएको छ । नारी शक्ति जागरण आमा समूहले नेपाल नर्सिङ संघ कास्कीको सहयोगमा कार्यक्रम गरेको हो ।

गण्डकी अस्पतालका अस्पताल नर्सिङ निरीक्षकद्वय गीत ढकाल र पुष्पा महर्जनले भिआइए जाँच गरेका हुन् । ढकालले ३० देखि ६० वर्षमा महिलाले यो जाँच गराउनुपर्ने बताइन् । उनले भनिन्, ‘नेगेटिभ भए ढुक्क भो, पोजेटिभ आए त्यसको उपचार गरी हरेक वर्ष जाँच गराउनुपर्छ ।’ यो जाँचबाट पाठेघरको मुखमा १० वर्षपछि हुन सक्ने क्यान्सर पत्ता लागी समयमै उपचार हुने उनले बताइन् ।

आमा समूहका सल्लाहकार एवं पोखरा महानगरका कार्यपालिका सदस्य राधिका शाही योगीले सरसफाई र स्वास्थबारे सचेत बने धेरै रोगबाट बाच्न सकिने उल्लेख गरिन् । उनले भनिन्, ‘समस्या लुकाएर होइन, उपचार गरेर समाधान हुन्छ । सहरी स्वास्थ्य केन्द्रमा पनि धेरै थरीका औषधी सित्तैमा पाइन्छ ।’

समूहका अध्यक्ष शिशिर थापा गोदारले शिविरमा सहभागिताका लागि घरदैलो र सचेतना शिविरसमेत गरिएको बताइन् । हालै दर्ता भएको आमा समूहले महिलालाई स्वास्थ्य, शिक्षा, सचेतना र सशक्तीकरणका लागि विभिन्न कार्यक्रम गर्ने बताइन् । कार्यक्रममा उपाध्यक्ष प्यारी गुरुङ र राधादेवी लम्सालले पनि बोलेका थिए ।