ताजा समाचार

असार १४ गते २०७६

सिद्धार्थ टोल विकासका महिलालाई कानूनी सचेतना

पोखरा महानगरपालिका वडा नं. ४ स्थित सिद्धार्थ टोल विकास संस्थाका सदस्यहरूलाई कानूनी सचेतना प्रशिक्षण दिइएको छ । बाल तथा महिला सशक्तिकरण समाज नेपालको सहकार्यमा कार्यक्रम भएको हो ।

बाल तथा महिला सशक्तिकरण समाज नेपालकी अध्यक्ष अधिवक्ता भुवन पराजुलीले सिद्धार्थ टोल विकास संस्थाका करिब १ सय महिला सदस्यलाई प्रशिक्षण दिएकी थिइन् । प्रशिक्षक पराजुलीले नेपालको कानून, अन्तर्राष्ट्रिय कानून, देवानी, फौजदारी कानून लगायत घरेलु तथा महिला हिंसासम्बन्धी प्रशिक्षण दिएकी थिइन् ।

कार्यक्रम शुभारम्भ गर्दै पोखरा–४ का वडाध्यक्ष शंकर बाँस्तोलाले कानुनबारे जानकारी महिलाका लागि सबैभन्दा महत्वपूर्ण विषय भएको बताए । सिद्धार्थ टोल विकास संस्थाले सामाजिक तथा महिलाको क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको भन्दै संस्थाका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए ।

संस्थाकी निवर्तमान अध्यक्ष गोमा कोइराला सुवेदीले संस्थाले विगतमा पनि यस्तै किसिमका रचनात्मक कार्य गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता पाउने विश्वास व्यक्त गरिन् । उनले महिला पनि रथका १ पांग्रा भएको भन्दै आफ्नो अधिकारबारे जानकार हुन आवश्यक भएको बताए ।

संस्थाका सल्लाहकार मदनकाजी श्रेष्ठले कानुनका विषयमा सबै जानकार हुन आवश्यक रहेको बताए । उनले नेपालको संविधानमा उल्लेख भएका कानूनहरु पनि सबैले बुझ्न आवश्यक रहेको बताए ।

संस्थाकी अध्यक्ष सम्झना माकाजूको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सीमा कोइरालाले स्वागत र सचिव कल्पना गौतमले सञ्चालन गरेकी थिइन् ।