ताजा समाचार

असार १४ गते २०७६

पोखरासहित देशभर झरीको सम्भावना, कहिलेसम्म रहला ?

आज (शनिबार) पोखरासहित देशका पूर्वी र मध्य क्षेत्रमा मौसम बदली भएको छ। कुनै पनि बेला वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार पोखरादेखि पश्चिम भने आज र भोलि पानी पर्ने सम्भावना छैन।

‘अहिले खासगरी पूर्वको पहाडी र मध्य क्षेत्रको तराई भेगमा बादल बाक्लो लागेको छ,’ मौसमविद् अर्यालले भने, ‘कुनै पनि बेला पानी पर्न सक्छ।’

उनका अनुसार यी भेगका कुनै स्थानमा अहिले पनि पानी परिरहेको हुनसक्छ। पश्चिमी क्षेत्रमा बदली भए पनि आज मध्यपश्चिम र सुदूर पश्चिममा भने पानी पर्ने सम्भावना छैन।

‘पोखरादेखि पूर्व का स्थानमा पानी पर्न पनि सक्छ,’ उनले भने, ‘तर पोखरादेखि पश्चिम भने भोलिसम्म वर्षाको सम्भावना छैन।’

माैसम पूर्वानुमान महाशाखाले जारी गरेकाे ३ दिनसम्मकाे माैसमी अनुमान यस्ताे छ-

असार १४   गते  (शनिबार )

दिउँसोः  देशको मध्य र पुर्वी भूभागमा सामान्य बदलि तथा पश्चिमी भूभागमा आंशिक देखि सामान्य बदली भई पूर्व र मध्यका केही  स्थानहरूमा साथै पश्चिमका थोरै स्थानहरूमा वर्षाको सम्भावना छ।

राति: देशभर सामान्य बदली भई पूर्व र मध्यका धेरै  स्थानहरूमा र  पश्चिमका थोरै स्थानहरूमा वर्षाको सम्भावना रहेको छ। पूर्वका एक दुइ स्थानमा भारि वर्षा हुने सम्भावना छ।

असार १५ गते (आइतबार)

दिउँसोः  देशभर  सामान्य बदली  देशका केही  स्थानहरूमा वर्षाको सम्भावना छ। राति: देशभर सामान्य बदली भई पूर्व र मध्यका केही  स्थानहरूमा साथै पश्चिमका थोरै स्थानहरूमा वर्षाको सम्भावना छ।

असार १६   गते  (सोमबार)

दिउँसोः  देशभर  सामान्य बदली  भई देशका धेरै  स्थानहरूमा वर्षाको सम्भावना छ। राति: देशभर सामान्य बदली भई  पूर्व र मध्यका धेरै  स्थानहरूमा र  पश्चिमका केही स्थानहरुमा वर्षाको सम्भावना छ।