ताजा समाचार

असार १३ गते २०७६

ओमकारेश्वर पोखरेलीको ‘बिना’

पोखरा महानगरपालिका वडा नं. १७, रातोपहिरास्थित ओमकारेश्वर महादेव मन्दिर तथा ओमकारेश्वर गुफा अफ्नै बिनाको सुगन्ध थाहा नपाउने कस्तुरी जस्तै भएको छ ।

नेपालको प्रमुख पर्यटकीय शहर पोखराका नागरिक विभिन्न सम्भाव्य क्षेत्रको खोजी गर्दै विभिन्न क्षेत्रमा पुग्छन् । तर आँगनमै रहेको ओमकारेश्वर महादेव मन्दिर तथा ओमकारेश्वर गुफा भने ओझेलमा परेको छ । पोखरा महानगरपालिका, राज्यका निकाय तथा अन्य सरोकारवालाले पनि मन्दिरको उत्थानका लागि ध्यान दिन सकेको छैन ।

पोखराको पृथ्वीचोकबाट करिब १० किमिको दुरीमा रहेको उक्त मन्दिर तथा गुफा पोखराकै परिचित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय नजिकै छ । हाल मन्दिर तथा गुफाको पुनर्निर्माण धमाधम भइरहेको छ ।

यतिबेला उक्त गुफा हेर्ने आउने भक्तजनको भीड लागेको मन्दिर तथा गुफा व्यवस्थापन समितिका पूर्व अध्यक्ष भगवान पन्तले जानकारी दिए । उनका अनुसार लाईनमा बसेर गुफामा गएर पूजा गर्नेको भीड समेत लागेको छ । मन्दिर तथा गुफामा विशेषगरि एकादशीका दिन भीड लाग्ने गर्दछ ।

पन्तका अनुसार केही वर्ष अघि मात्र हरिहर गुफाका जोगी आएर खोजी गरेपछि ओमकारेश्वर गुफा फेला परेको हो । ओमकारेश्वर महादेव मन्दिरबाट ३ सय मिटर तल गण्डकी नुहाउन जाने भिरमा गुफा छ ।

सो गुफा १० फिट लम्वाई र ६ फिट चौडाईको छ । गुफाको नाम ओमकारेश्वर गुफा नामाकरण गरिएको पूर्व अध्यक्ष पन्तले जानकारी दिए । गुफा भित्र भगवान शिव र पार्वतीको मुर्ति रहेका छन् । सेती नदीको किनारमा अवस्थित उक्त गुफा पर्यटकीय हिसावले महत्वपूर्ण हुने ठानिएको छ ।

ओमकारेश्वर मन्दिर र गुफाबारे थप जानकारी दिन भिडियोमा पनि हेरौं