पहिरोका कारण २१ परिवार प्रभावित

पाँचथरको सुदूरउत्तरी याङवरक गाउँपालिका–२ फलैँचाको उच्च पहाडी भेगमा रहेका छ वटा बस्तीमा गत मङ्गलबार बेलुकी आएको पहिरोबाट सात घर परिवार विस्थापित बनेका छन् ।


निरन्तरको वर्षापछि सेपी, चिङ्मा, बेतेनी, धिमाले, मुक्लाबु र गङ्गावा बस्तीमा पहिरो गएको हो । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार पहिरोबाट याङवरक गाउँपालिका–२ फलैँचाको चिङ्मा र मुक्लाबुका सात परिवार पूर्णरुपमा विस्थापित भएका हुन् । विस्थापित सात परिवारका ४२ सदस्य छन् ।

वडाध्यक्ष देउकुमार योङहाङका अनुसार रातिबाट पहिरो जान थालेपछि स्थानीय घर छोडेर भागेका थिए । चालू आर्थिक वर्षमा अरु मानव बस्तीबाट छ घण्टाको पैदल दूरीमा रहेको बर्मे भन्ने स्थानमा मोटरबाटो पु¥याउन यहाँको सन्त गोलाइ भन्ने स्थानबाट सेपी–चिङ्मा हुँदै मोटरबाटो निर्माण गरिएको छ ।

निरन्तरको वर्षा र मोटरबाटो निर्माणका कारण पहिरो गएको स्थानीयवासीको भनाइ छ ।
अझैसम्म वर्षा भइरहेका कारण स्थानीयवासीमा पहिरो जाने त्रास कायम रहेको उनको भनाइ छ । डुँडे चौरमा आश्रय लिएर बसेका पीडितलाई याङवरक गाउँपालिका, पाँचथर उद्योग वाणिज्य सङ्घ र नेपाल रेडक्रस सोसाइटी पाँचथर शाखाले बिहीबार राहत सामग्री प्रदान गरेका छन् ।