पाँच वर्षदेखि रोकिएको म्याग्दीस्थित ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण कार्य पुन सुरु भएको छ ।
नेपाल विद्युत् प्राधिकरणले विसं २०६६ देखि शुरु गरेको आयोजनाको काम तत्कालीन ठेकेदार कम्पनी आइभिआरसियल टाट पल्टिएपछि २०७१ सालदेखि रोकिएको हो।
पाँच वर्षमा करीब १० प्रतिशत मात्र काम भएको थियो । प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक गणेश केसीले कम्पनी मोडलमा बन्न लागेको राहुघाटको पिप्लेस्थित अडिट नं ३ मा सुरुङ निर्माणको काम यसै हप्तादेखि सञ्चालन भएको बताए ।
पहिलेको कार्यतालिका र सम्झौताअनुसार राहुघाट २०७० सालमा सकिनुपर्ने थियो । विसं २०७२ मा पुरानो ठेक्का तोडेर कम्पनी मोडलबाट आयोजनालाई अघि बढाइएको थियो । पहिले ३२ मेगावाटमा डिजाइन गरिएकामा पछि आठ मेगावाट बढाएर ४० मेगावाट पु¥याइएको छ ।ठेकेदार कम्पनीले सबै तयारी सकेर सुरुङ निर्माण शुरु गरेको जानकारी दिँदै प्रबन्ध सञ्चालक केसीले कार्यतालीका बनाएर कामलाई तीव्रता दिने बताए। विसं २०७४ मङ्सिर ५ मा रु छ अर्बमा सम्झौता गरेको भारतीय ठेकेदार कम्पनी जेपी एशोसिएट्सले २०७५ जेठ १० गते कार्यादेश पाएको थियो ।
कम्पनीका सहायक निर्देशक गोपाल पाठकले पहुँचमार्ग, आवास, निर्माण सामग्री आपूर्तीलगायतका पूर्व तयारी गरेको बताए । घुमाउनेतालदेखि झिँ र दग्नामको सिमानामा निर्माण हुने बाँधसम्म १० किलोमिटर सडकको ट्र्याक पुगेको जानकारी दिए ।बाँधतर्फ जाने बाटोमा पर्ने बुक्लस्थित रघुगङ्गा नदीमा ४० मिटर लामो मोटरेबल पुल निर्माण शुरु भएको छ । निर्माण सामग्रीको आपूर्तिका लागि चमेरेमा क्रसर र पिप्लेमा बेचिङ प्लान्ट बनाएको छ ।
विद्युत् गृह निर्माण हुने तिल्नेनीको अडिट नं ४ बाट पनि छिट्टै सुरुङ खन्ने तयारी भएको ठेकेदार कम्पनीका इञ्जिनीयर आरके श्रीवास्तवले बताए । भौगोलिक विकटता, मौसमी प्रतिकूलता र पहिरोको समस्याले अँधेरीखोलाको २ नम्बर र बाँधको १ नम्बर अडिटको सुरुङ खन्ने काम भने बर्खापछि शुरु गरिने बताए ।आयोजनाको छ किलोमिटर २०० मिटर सुरुङ र एक किलोमिटर पेनस्टक निर्माण गर्नुपर्नेछ । पिप्ले, झिँ र दग्नाममा नौ वर्षअघि नै २८२ रोपनी जग्गा अधिग्रहण गरिसकेको आयोजनाले वनसम्बन्धी सबै प्रक्रिया पूरा गरेको छ ।
इलेक्ट्री मेकानिकल ठेक्काका लागि परेका तीन प्रस्तावको प्राविधिक मूल्याङ्कन गरी स्वीकृतिका लागि ऋण लगानीकर्ता एक्जिम बैंकलाई पठाइएको छ । वित्तीय प्रस्ताव खोलेर मूल्याङ्कनको क्रममा रहेको उपनिर्देशक पवन बस्नेतले बताउनुभयो ।




