ताजा समाचार

असार १३ गते २०७६

वृद्धवृद्धालाई स्वेच्छिक मृत्युको अधिकार माग

वरिष्ठ पत्रकार भैरव रिसालले ज्येष्ठ नागरिकलाई ‘स्वेच्छिक मरन’ गर्न पाउने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

पत्रकार रिसालले धेरै विद्धान छोराछोरीका ज्येष्ठ आमा–बुबाले पनि कठिनका साथ जिउनु परिरहेको वर्तमान रहेका उनीहरुले चाहेमा स्वेच्छिक मरन गर्न पाउने कानुनी व्यवस्था गरिदिन आग्रह गरेका छन् । सुन्दा नमिठो लागे पनि ज्येष्ठ नागरिकहरुले स्वेच्छिक मरन गर्न चाहेको देखिएको उल्लेख गर्दै उनले सो कानुनी व्यवस्था गर्न सरकारसँग अनुरोध गरेका हुन् ।

वरिष्ठ पत्रकार रिसालले विश्वका कतिपय मुलुकमा ज्येष्ठ नागरिकहरुले चाहेमा स्वेच्छिक मरन गर्न पाउने कानुनी व्यवस्था रहेकोतर्फ सरकारको ध्यानाकर्षण गराएका छन् ।

शुक्रबार संघीय संसदको महिला तथा सामाजिक समितिको बैठकमा ज्येष्ठ नागरिकसम्बन्धि विधेयकमाथि सरोकारवालाहरुसँगको छलफलमा भाग लिँदै रिसालले ज्येष्ठ सासु–ससुरालाई स्याहार गर्ने बुहारीमध्येबाट उत्कृष्टलाई पुरस्कार दिने व्यवस्था गर्न पनि सरकारलाई सुझाव दिए । विधेयकमा ज्येष्ठ नागरिकलाई पालनपोषण नगर्ने छोराछोरीलाई ३ लाख जरिवाना र ५ वर्षसम्म जेल सजाय दिने प्रावधान राखिएको छ ।

त्यसले पनि ज्येष्ठ नागरिकहरुको हेरचाहका लागि सामाजिक रुपमै जागरण ल्याउने उनको भनाई छ । बैठकमा राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका अध्यक्ष एवम् वरिष्ठ कलाकार मदनदास श्रेष्ठले ज्येष्ठ नागरिकलाई वृद्धाश्रममा नभई घरमा नै पालनपोषण गर्ने बाध्यकारी कानुनी व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । उनले ज्येष्ठ नागरिकको पालनपोषणका लागि नैतिक शिक्षाको उचित व्यवस्था गर्न पनि सरकारसँग माग गरे ।