ताजा समाचार

असार १३ गते २०७६

पोखरा महानगरका कांग्रेस वडाध्यक्षको आन्दोलन फिर्ता

पोखरा महानगरपालिकाको बजेटमा असन्तुष्ट कांग्रेस निकट ११ वडाध्यक्षसहितका जनप्रतिनिधिले आन्दोलन फिर्ता लिएका छन् । महानगरका मेयर मानबहादुर जिसीले प्राथमिकता हेरेर योजना समेट्ने आश्वासन दिएपछि आन्दोलन फिर्ता भएको हो ।

आन्दोलनबारे मेयर मानबहादुर जिसी र आन्दोलनरत कांग्रेस वडाध्यक्षबिच शुक्रबार छलफल भएको थियो । वडा ९ का अध्यक्ष रामराज लामिछानेले मेयरले छुटेका योजनलाई समेट्ने बताएपछि आन्दोलन फिर्ता लिएको बताए ।

नगरसभाबाट गत बुधबार पारित आगामी आव २०७६०७७ को बजेटमा कांग्रेस निकटका वडाध्यक्षसहित ४८ जनप्रतिनिधिले बिहीबार महानगर कार्यालयको मुलगेटमा ताला लगाई धर्नामा बसेका थिए ।

आफ्ना वडामा कम बजेट दिएको भन्दै कांग्रेस निकट जनप्रतिनिधि मेयर मानबहादुर जिसी विरुद्ध आन्दोलनमा जुटेका थिए । उनीहरुले नगरसभामा रातो किताब च्यात्नेदेखि सभागृह हलका टेबुल, कुर्सीसमेत तोडफोड गरेका थिए ।