नगरभित्र एउटा घर बनाउदा दुई बिरुवा अनिवार्य रोप्नु पर्ने नियम

सर्वसाधारणले नयाँ घर निर्माण गर्दा दुई वटा बिरुवा अनिवार्य रोपण गर्नुपर्ने नियम तनहुँको व्यास नगरपालिकाले लागू गरेको छ ।

हरियाली नगर बनाउने उद्देश्यका साथ नगरपालिकाले घर निर्माण सम्पन्न प्रमाणपत्र लिनुअघि न्यूनतम दुई वटा बोटबिरुवा रोपण गर्नुपर्ने नीति ल्याएको हो ।

नगरपालिकालाई हरियाली नगर बनाउने उद्देश्यका साथ बिरुवा रोपण अभियान सञ्चालन गर्न लागिएको उपप्रमुख मीरा जोशीले जानकारी दिइन् । नगरपालिकाका सबै वडामा रहेका सडकको वर्गीकरण गरी सडक किनारामा हरियाली प्रवद्र्धनका लागि वृक्षरोपण गर्ने कार्यलाई अभियानका रुपमा सञ्चालन गरिने जोशीले बताए ।

नगरपालिकाले फूलैफूलको नगर बनाउने नीति लिएको छ । नगरको सुन्दरताका लागि सडक किनारा र पार्क तथा खुल्ला स्थानको प्राकृतिक सुन्दरता एवं वातावरणीय स्वच्छता कायम गर्न बहुउद्देश्यीय नर्सरी स्थापना गर्ने नीति नगरपालिकाले पारित गरेको छ ।

नगरपालिकाभित्र परम्परागत चौतारा र पोखरी संरक्षणलाई अभियानकै रुपमा अघि बढाइने उपप्रमुख जोशीले बताइन् । जोशीका अनुसार व्यास नगरपालिकालाई प्लास्टिक झोलामुक्त नगरपालिका बनाउन टोल विकास संस्थाहरुसँगको सहकार्य अघि बढाइने र वैकल्पिक झोला तयारी गर्नका लागि सहयोग प्रदान गरिनेछ ।

त्यसैगरि नगरपालिकाले खरको छानोमुक्त नगर अभियान सञ्चालन गर्ने भएको छ । आगामी आर्थिक वर्ष ०७६–७७ मा खरको छानो भएका घरहरु जस्ताले छाउन नगरवासीलाई अनुदान दिइनेछ । नगरभित्र रहेका खरको छानो भएका घरहरुको अध्ययन गरी खर–स्याउलाको छानामुक्त नगरपालिका निर्माण गर्ने कार्यलाई तीव्रता दिइनेछ ।

त्यसैगरि विदेशबाट फर्किएका युवालाई उद्यमी बनाउन व्यास नगरपालिकाले विभिन्न सीपमूलक तालीम प्रदान गर्ने भएको छ । स्वदेशमै बसेर उद्यम गर्न चाहने युवालाई लक्षित गरी नगरपालिकाले आगामी आर्थिक वर्ष सीपमूलक तालीम प्रदान गर्न लागेको हो ।

भने नगरपालिकाले आफ्नै एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । नगरवासीको स्वास्थ्य सेवालाई व्यवस्थित गर्न नगरपालिकाले एम्बुलेन्स सञ्चालनमा ल्याउन लागेको हो । नगरपालिकाभित्रका स्वास्थ्य संस्थाहरुलाई नगरवासीको स्वास्थ्य सेवामा समर्पित र सेवामुखी एवं विश्वसनीय बनाइने उपप्रमुख जोशीले बताइन् ।