१० औं कोरियन भाषा परीक्षाको नतिजा आज (शुक्रबार) सार्वजनिक गरिएको छ ।
गएको जेठ २५ र २६ गते लिइएको भाषा परीक्षाको नतिजा ईपीएस कोरियाले गए राति सार्वजनिक गरेको ईपीएस कोरिया शाखाका प्रवक्ता शोभाकर भण्डारीले जानकारी दिएका छन् ।
कोरियाले पहिले जानकारी नगराएकाले वेवसाइटमा राख्न ढिला भएको र अहिले राख्ने काम भइरहेको उनले बताएका छन् । परीक्षाफल इपीएसको वेभसाइडमा गएर हेर्न सकिने जनाइएको छ ।
परीक्षामा ९२ हजार ३५६ युवा सहभागी भएका थिए । यीमध्ये कूल १० हजार ५० जना नेपाली प्रशिक्षार्थी कामदारका रुपमा लैजाने कोटा दक्षिण कोरियाले निर्धारण गरेको छ । कृषिमा ३ हजार र उत्पादनमुलक क्षेत्रमा ७ हजार ५० जना परीक्षार्थी छनोट गर्ने कोटा निर्धारण गरेको छ ।
भाषा परीक्षा र सीप परीक्षणमा पास हुने परीक्षार्थी रोजगार आवेदन दिनका लागि योग्य हुनेछन् । रोजगारीका लागि एक सम्भावित व्यक्ति भए पनि कोरियाका रोजगारदाताको छनोटमा पर्नेले मात्र रोजगारीको अवसर प्राप्त गर्नेछन् ।
परीक्षामा पास हुँदैमा कोरियाको रोजगारी सुनिश्चित भयो भनेर ढुक्क नहुन प्रवक्ता भण्डारीले सबै परीक्षार्थीलाई आग्रह गरेका छन् । पछिल्लो समय दक्षिण कोरियाको रोजगारी युवाहरुको आकर्षणका रुपमा रहेको छ ।






