कुष्ठरोग भएपछि विगत ३० वर्षदेखि जङ्गलमा बस्दै आएका पाल्पाका एक वृद्ध अहिले घर फर्किएका छन् ।
निस्दी–४ मित्यालका जसवीर सुनारी कुष्ठरोग लागेका कारण गाउँदेखि करीब ७०० मिटर टाढा जङ्गलमा बस्दै आएका सुनारी अहिले घरमा फर्केका हुन् ।
सुनारीको विषयमा विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन तथा प्रसारण भएपछि स्थानीय सरकारको पहलमा उहाँलाई घर फर्काइएको छ । गाउँपालिकाका जनप्रतिनिधि, राजनीतिक दल, समाजसेवी, स्वास्थ्यकर्मीको टोलीले उहाँलाई घरमा फर्काएको गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुमगरले बताए ।
कुष्ठरोग लागेको थाहा पाएपछि विसं २०४० मा गाउँलेले गाउँमा कुष्ठरोग फैलिने डरले गाउँदेखि टाढा भिरालो जग्गा बाँसघारी नजिकै पठाएका थिए । उमेरले करीब ८० वर्ष पुगेका वृद्ध सुनारीले आफू बिरामी भएपछि गाउँलेहरुले आफूलाई हेला गर्ने गरेको स्मरण गरे पनि अहिले घरमा बस्दा खुसी लागेको बताए ।
अविवाहित सुनारीले भाइका छोराबुहारीले माया गरेर पहिलेदेखि नै घरमा बोलाउँदा पनि सबैले हेला गर्ने डरले नआएको बताए । यसअघि कहिलेकाहीँ गाउँमा हुने विवाह तथा चाडपर्वमा घर आएपनि खरको छानो र खरले नै बारेको छाप्रोमा बस्दै बस्ने गरेका थिए तर अहिले भने भाईबुहारीसंग बसेका छन् ।





