उल्टो मन्त्र पढेर श्रीमती र बुहारीको मृत्यु भएको भन्दै झाँक्रीको हत्या गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
असार ४ गते राति १२ बजेको समयमा आफ्नै टोल निवासी ५५ वर्षीय जयराम थारुको हत्या गरेको भन्दै बर्दियाको राजापुर नगरपालिका ३ नंगापुर बस्ने ४९ वर्षीय अजोध्या भनिने दोदलाल थारु पक्राउ परेका हुन् ।
झुटा मन्त्र पढेको भन्दै उनको हत्या गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको ईलाका प्रहरी कार्यालय राजापुरका प्रहरी नायव उपरीक्षक तिलक भारतीले बताए । प्रहरीले हत्यामा प्रयोग गरिएको धारिलो हतियार घाँस टुक्रा पार्ने गरसा समेत बरामद गरेको छ । मृतक जयराम थारुले गाउँमा गुरुवा (धामी–झाँक्री) काम गर्दै आएका थिए ।
दोदलाल थारुले झाँक्रीले उल्टो मन्त्र पढेकै कारण श्रीमती र बुहारीको मृत्यु भएको भन्दै आफुले हत्या गरेको स्वीकार गरेको प्रहरीको भनाई छ । एक महिनाको अन्तरालमा श्रीमती र बुहारीको मृत्यु भएपछि आफ्नो समेत पेट फुल्ने समस्या गुरुवाले गराएकोले बदला लिनकै लागि झाँक्रीको हत्या गरेको बताएका छन् ।