पोर्चुगलमा उपचारको क्रममा एक नेपाली निधन

युरोपेली मुलुक पोर्चुगलको राजधानी लिस्बनमा एक नेपालीका उपचारकाक्रममा निधन भएको छ । धादिङ जिल्ला घर भएका ५३ बर्षिय नेत्रबहादुर घलेको उपचारको क्रममा पोर्चुगलको राजधानी स्थित साउँ जोजे हस्पिटलमा गत शनिबार राती निधन भएको हो ।

मृतक घले बिगत तीन बर्षदेखि पोर्चुगलमा बस्दै आएका पारिवारिक श्रोतले बतायो । उनी २२ दिनदेखि हस्पिटलमा खुट्टामा भएको ठूलो घाउको इन्फेक्सन कारण उपचारार्थ थिए । मृतक घलेका श्रीमती दुई छोरी र एक छोरा रहेका छन् ।

दिनप्रतिदिन पोर्चुगलमा नेपालीहरुको यस्ता खालका घटना बढ्दै जानु दुखद रहेको भन्दै लिस्बनस्थित अवैतनिक नेपाली बाणिज्यदूत मकरबहादुर हमालले सबैलाई सचेत रहन आग्रह गरे ।

यसैगरी शव ब्यबस्थापन र आर्थिक सहयोगकालागि आजै एनआरएनए पोर्चुगलको कार्यालयमा सर्वपक्षीय बैठक बसी काम अगाडि बढाइएको एनआरएनए पोर्चुगलका अध्यक्ष कुबेर कार्कीले जानकारी दिए । सन् २०१९ शुरु भएको छ महिनाभित्र विभिन्न कारणले पोर्चुगलमा ५ जना नेपालीको मृत्यु भइसकेको छ । सन् २०१० देखि हालसम्म २७ जना नेपालीको निधन भएको छ ।