कञ्चनपुर सिँचाइ विकास डिभिजन कार्यालय प्रमुख घूस रकमसहित प्रक्राउ परेका छन् । प्रक्राउ पर्नेमा प्रमुख अजित कुमार श्रीवास्तव रहेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले २ लाख घूससहित प्रक्राउ गरेको हो । श्रीवास्तवले भीमदत्त नगरपालिकामा पर्ने चौधर नदीको तटबन्ध निर्माणको भुक्तानी दिने क्रममा दुई लाख कमिसन माग गरेका थिए ।
उनले कमिसनबापत लिएको दुई लाख घूस रकम भान्सामा रहेको चामलको बोरामा लुकाएर राखेको अवस्थामा श्रीवास्तवलाई पक्राउ गरिएको अख्तियार कञ्चनपुरका सूचना अधिकारी टोपबहादुर विष्टले जानकारी दिए । श्रीवास्तव पक्राउ परेपछि सत्तारुढ दल नेकपा नेता कार्यकर्ताहरुले सरकारलाई असफल बनाउन खोज्ने फन्दामा परेको जनाएका छन् । उनीहरुले भ्रष्टाचार, घूसखोरी गर्दै सरकारलाई असफल गराउने तत्व बढ्दै गएको दाबी गरेका छन् ।





