असार १२ गते २०७६

ताजा समाचार

असार १२ गते २०७६

बाढीका कारण अस्पताल चोक उच्च जोखिममा



नेपालमा मनसुन भित्रिएसंगै लगातार जसो वर्षा भैरहदा म्याग्दी जिल्ला सदरमुकाम बेनी बजारको अस्पताल चोक बाढीको उच्च जोखिममा परेको छ ।

वातावरणीय असरको ख्यालै नगरी गत हिउँदमा अस्पताल चोकदेखि जामुनाखर्कसम्म खनिएको अव्यवस्थित सडकका कारण अस्पताल चोक बाढीको उच्च जोखिममा परेको हो ।

बर्खासँगै नाली नभएको सडकबाट दैनिकजसो बाढी आउन थालेको छ । बुधबार अपराह्न ४ बजे आएको बाढीले अस्पतालचोक र कालीपुलका घर तथा पसलमा क्षति पुगेको छ । कालीपुल बसपार्क क्षेत्रमा हिलो जमेर आवतजावतमा समस्या भएको छ ।

भिरालो पाखोमा खनिएको सडकमा ढलको निकास गर्ने नाली नहुँदा बाढी आएको स्थानीयवासीले बताएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय पनि बाढीको जोखिममा परेको छ । अस्पताल चोकमा रहेका रिहाना थकाली होटल र विजय किराना तथा फलफूल पसलभित्र रहेको तीन वटा कोठामा बाढी पसेर क्षति पु¥याएको छ ।