ताजा समाचार

असार १२ गते २०७६

रोजगारीका लागि चीन गएका ४४ नेपाली महिला ,उद्धार गरिदिन आग्रह

चीनमा रोजगारीका लागि गएका ४४ नेपाली महिला अलपत्र पारेका छन् ।

चीनको उत्तर–पूर्वमा पर्ने ल्याबोनिङ प्रान्तको तानतोङस्थित तानतोङ गार्मेन्ट कारखानामा काम गर्न गएका नेपाली चेली अलपत्र परेका हुन् ।

उनीहरुको भिसा अवधि सकिएर अलपत्र परेका हुन् । काठमाडौंस्थित गौशाला पिंगलास्थानमा रहेको कम्पास रिक्रुटमेन्ट मेनपावर कम्पनीले एकमहिने पर्यटक भिसामा चीन पठाएको थियो ।

अलपत्र परेका नेपाली चेलीहरुले आफुहरुलाई चीन पठाउने मेनपावर कम्पनी र बेइजिङस्थित नेपाली दूतावाससँग उद्धार गरिदिन आग्रह गरेका छन् । अलपत्र परेका चेलीहरुले मेनपावर कम्पनीले आफुहरुलाई कपडा प्याकिङ काम भएको र आकर्षक तलब पाइने भन्दै झुक्याएर चीन पठाएको आरोप लगाएका छन् ।

गत मे १२ मा ३९ जना र सोही महिनाको ३१ तारिखमा १० नेपाली महिला उत्तर कोरियाको सीमानजिकै पर्ने तानतोङ गएका थिए । उनीहरुमध्ये पाँचजना केही सातापछि नेपाल फर्किसकेका छन् भने ४४ जना अलपत्र परेका छन् । चिनियाँ कानुनअनुसार अवैधरुपमा चीन बस्ने विदेशीलाई दैनिक पाँच सय युआन जरिवाना हुन्छ ।