ताजा समाचार

असार ११ गते २०७६

खराब मौसम र व्यवस्थापकीय त्रुटिले रवीन्द्र चढेको हेलिकोप्टर दुर्घटना : प्रतिवेदन

पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जना चढेको हेलिकोप्टर दुर्घटनाको मुख्य कारण खराब मौसम रहेको छानविन समितिले निष्कर्ष निकालेको छ । शक्तिशाली हावा, हिमपात र व्यवस्थापकीय कमजोरीले हेलिकोप्टर दुर्घटना भएको समितिको निचोड छ । 

दुर्घटनापछि सरकारद्वारा गठित छानविन आयोगले बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढा समक्ष प्रारम्भिक प्रतिवेदन पेश गर्दै शक्तिशाली हावा र हिमपात पाइलटले नियन्त्रण गुमाउँदा दुर्घटना भएको उल्लेख गरिएको छ ।

दुर्घटनापश्चात मन्त्रिपरिषद्को आकस्मिक बैठकले दुर्घटनाको सत्य तथ्य जाँचबुझ गरी सुझावसहितको प्रतिवेदन सरकारलाई पेश गर्नेगरी पूर्व सचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा चार सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको थियो।

प्रतिवेदनमा भनिएको छ, ‘पाथिभरा हेलिप्याडबाट उड्नेवित्तिकै उक्त हेलिकप्टर शक्तिशाली हावासँग जुधेको र हिमपात पनि भइरहेको थियो । यस्तो अवस्थामा पाइलटले परिस्थितिजन्य सावधानी गुमाए, फलस्वरुप दुर्घटना भयो ।’ 

प्रतिवेदनअनुसार मन्त्री सवार हेलिकोप्टर पाथिभरामा ओर्लिएपछि मौसम झनै बिग्रिएको थियो । समितिका एक सदस्यले प्रतिवेदनलाई उधृत गर्दै भने, ‘बीचमा केही समय मौसम खुलेपछि यही मौकामा उडिहालौं भनेर पाइलटले हेलिकोप्टर उडाए । हेलिकोप्टर उडेको १ मिनेटभित्रै पुनः हिउँसहितको हिमाली आँधि आयो । हेलिकोप्टर मोडिने समयमै अकस्मात आएको आँधिमा पर्दा पाइलटले सम्हाल्न सकेनन् ।’

१५ फागुन २०७५ मा ताप्लेजुङको पाथिभराबाट काठमाडौंका लागि उड्ने क्रममा एयर डाइनेस्टीको ‘९एन–एएमआई–एसएस ३५० बी ३ इ’ हेलिकोप्टर दुर्घटनामा परेको थियो ।
दुर्घटनाको मुख्य कारणमा मौसमसँगै व्यवस्थापकीय कमजोरी पनि रहेको समितिको निचोड छ । 

सेन्ट्रल अफ ग्राभेटी मिलाउनका लागि विमानस्थलमा बुझाएको पत्रमा भने उनीहरुले अगाडि २ र पछाडि ५ जना बस्ने भनेर सिट प्लानिङ गरेका थिए । तर, अगाडि पाइलटसहित ३ जना बसेका थिए । अगाडि तीन जना बस्दा पाइलटलाई असहज अवस्था आएको समितिको निचोड छ ।

चुहानडाँडाको निरीक्षणपछि उक्त टोली पाथिभरा देवीको मन्दिर दर्शन गर्न गएको थियो। जतिबेला त्यहाँको मौसम खराबी थियो । हेलिकप्टर उडेको एक मिनेटमै हिमआँधी आएकाले दुर्घटना भएको प्रतिवेदनले औंल्याएको छ। मन्त्रालयका अनुसार प्रारम्भिक प्रतिवेदनलाई सम्बन्धित मुलुक तथा निकायमा ६० दिनको समय दिएर पठाउने प्रावधान छ। सरोकारवालाबाट राय सुझाव समेटेर विस्तृत विवरण सार्वजनिक गरिने जनाइएको छ।

दुर्घटनामा मन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक ध्रुव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकोप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधन भएको थियो ।