ताजा समाचार

असार ११ गते २०७६

मुस्ताङ झरपझोङको नीति तथा कार्यक्रम

आगामी आर्थिक वर्ष २०७६र७७ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत हुने घरपझोङ गाउँपालिकाको पाँचौं गाउँ सभाका अध्यक्षज्यू, गाउँसभाका सम्पूर्ण सदस्यज्यूहरू, प्रमुख प्रशासकीय अधिकृत लगायत कर्मचारीहरू मित्रहरू।

१। सङ्‍घीय लोकतान्त्रिक शासन व्यवस्था बमोजिम स्थापित यस घरपझोङ गाउँपालिकाको पाँचौं गाउँ सभामा आर्थिक वर्ष २०७६र७७ का लागि वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा आफूलाई गौरवान्वित महसुस गरेकोछु ।
२। यस अवसरमा सङ्‍घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापनाका लागि भएका ऐतिहासिक जनआन्दोलन, शसस्त्र संघर्ष एवं सामाजिक परिवर्तनका निम्ति भएका सबै वलिदानीपूर्ण संघर्षमा ज्यान गुमाउनु भएका ज्ञात अज्ञात सहीदहरूप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछु । साथै वेपत्ता एवं पीडित नागरिकहरूमा गहिरो सहानुभूति व्यक्त गर्दछु ।
३। घरपझोङ गाउँपालिकाबासी जनताले गाउँपालिकालाई समृद्ध बनाउने अभिभारा हामीलाई प्रदान गरेको विषयलाई आत्मसात गर्दै सो जिम्मेवारीप्रति गाउँ सरकार पूर्ण प्रतिवद्ध रहेको व्यहोरा दोहो(याउन चाहन्छु ।
४। यस गाउँपालिका सबै घरपझोङबासीको चाहना र आकांक्षा बमोजिम विकास निर्माणका कार्यक्रमहरू अघि बढाउन दृढ संकल्पित रहेकोछ र सोही बमोजिम कार्यक्रम तथा योजनाहरू कार्यान्वयन गर्दै आइरहेको पनि छ । यो महान कार्यमा सबै स्थानीय जनता तथा गाउँसभाका सबै सदस्यहरूको साथ र सहयोगको अपेक्षा गरेकोछु ।
५। संवैधानिक व्यवस्था अनुसार गाउँसभा र स्थानीय सरकारको गठन भै संचालनमा आएको २ वर्ष पूरा भएकोछ । यो शासकीय प्रणालीको सवलीकरणको माध्यमबाट संविधानको पूर्ण कार्यान्वयनमा हाम्रो गाउँपालिका पूर्ण प्रतिबद्ध रहेकोछ ।
६। नेपालको संविधानले अंगीकार गरेको तीन तहको सङ्‍घीय संरचनालाई कार्यमूलक बनाउने अभिभारा स्थानीय तह र स्थानीय सरकारको सामू रहेकोछ । राजनीतिक दल, निजी क्षेत्र, राष्ट्र सेवक कर्मचारी, सुरक्षा निकाय, नागरिक समाज, पत्रकारजगत लगायत सबैलाई आ(आफ्नो क्षेत्रबाट संविधान कार्यान्वयनमा सहयोग गर्न अपिल गर्दछु ।
अध्यक्ष महोदय,
७। हिमालपारीको जिल्ला मुस्ताङको मध्यभागमा अवस्थित यस गाउँपालिकाको तीव्र विकासको प्रचुर सम्भावना रहेकोछ । यस गाउँपालिकाको समग्र उन्नती र प्रगतिको लागि आगामी आर्थिक वर्ष ०७६र७७ का लागि देहाय बमोजिमका नीति तथा कार्यक्रमहरुको प्रस्ताव गरेकोछु ।
आर्थिक विकास
८। यस गाउँपालिकाको आर्थिक उपार्जन गर्ने मुख्य क्षेत्र मध्येको एक कृषि हो । यहाँको स्याउ, आलु तथा अन्य तरकारीहरू स्वदेश तथा विदेशमा समेत प्रख्यात छन् । कृषि क्षेत्रको आधुनिकीकरण गर्दै आगामी वर्ष उन्नत जातका विउ विजनको वितरण गरिनेछ । परम्परागत स्याउको सट्टामा आधुनिक र धेरै उत्पादन गर्न सक्ने स्याउको विरुवा वितरण गर्ने नीति लिइनेछ ।
९। कृषि क्षेत्रको प्रवर्धनको लागि कृषि पाठशाला तथा अन्य विज्ञ परामर्श सेवाका कार्यक्रमहरू ल्याइनेछ । स्याउ खेतिको प्रवर्धनका लागि ठूलो स्केलमा स्याउ खेति गर्ने व्यक्ति तथा समूहलाई अनुदान दिने नीति लिइनेछ । गाउँपालिका भित्र रहेका बाँझा जमिनको सदुपयोग गरी खेति लगाउनका लागि कृषकहरूलाई प्रोत्साहन गरिनेछ । बहुमूल्य हिमाली जडिबुटीको खोज, संकलन तथा प्रशोधन सम्बन्धी प्रारम्भिक अनुसन्धान गर्ने कार्यक्रम अगाडि बढाइनेछ ।
१०। गाउँपालिका क्षेत्रमा उत्पादन हुने फलफूल तथा कृषि उपजहरूको सहज भण्डारण गरी तुलनात्मक रूपमा बजार मूल्य बढी हुने समयमा विक्री वितरण गर्नको लागि एक चिस्यान केन्द्र स्थापना गर्ने नीति लिइनेछ । यस कार्यका लागि प्रदेश सरकार तथा सङ्‍घीय सरकारसँग सहकार्य गरिनेछ ।
११। जौ, ऊवा, फापर तथा तिते फापरजस्ता रैथाने बालीहरू यस क्षेत्रका पहिचान हुन् । यस्ता रैथाने बालीहरू आजभोलि संकटापन्न अवस्थामा पुगिसकेका छन् । आगामी आर्थिक वर्षमा त्यस्ता बालीहरूको पुनरागमन गराउन कृषकहरूलाई विशेष कार्यक्रमहरू ल्याइनेछ ।
१२। यस गाउँपालिकाभित्र बालीनालीमा विषादीको प्रयोगलाई न्यूनीकरण गर्दै लगिनेछ । प्राङ्गारिक मल तथा परम्परागत घरायसी किटनाशक औषधिको प्रयोग गरी अन्नवालीहरुको उत्पादन गर्न जोड दिइनेछ ।
१३। परम्परागत कृषि प्रणालीलाई प्रतिस्थापन गर्न तथा उत्पादनलाई अभिवृद्धि गरी कृषकहरूको जीवनस्तर सुधार्नका लागि विभिन्न कार्यक्रमहरु लागू गरिनेछ । कृषि सामग्री खरिद तथा विउ विजन वितरणमा दिइँदै आएको अनुदानलाई निरन्तरता दिइनेछ ।
१४। यस गाउँपालिका क्षेत्रमा पाइने लुलु गाई संरक्षणका लागि विशेष कार्यक्रम लागू गरिनेछ । लुलु गाईपालन गर्ने किसानहरूलाई अनुदान दिने नीति लिइनेछ । पशुपालन तर्फका विभिन्न उपयोगी कार्यक्रमहरू लागू गरिनेछ ।
१५। यस गाउँपालिकामा गण्डकी प्रदेश सरकारको लगानीमा उद्योग ग्राम स्थापना गर्ने सम्बन्धी प्रारम्भिक कार्य आगामी आर्थिक वर्ष बाटै शुरू हुनेछ । गाउँपालिका क्षेत्रभित्र कृषि उपज तथा फलफूलमा आधारित थोरै लगानीमा छिटै मुनाफा दिने उद्योग स्थापनामा जोड दिइनेछ । यस कार्यका लागि निजी क्षेत्रलाई प्रोत्साहन गरिनेछ ।
१६। गाउँपालिका क्षेत्रभित्र रहेका सबै व्यवसाय र वाणिज्य क्षेत्रका व्यवसायहरूलाई गाउँपालिकामा दर्ता गरिनेछ । सबै व्यवसायीहरूको बैज्ञानिक अभिलेख राख्ने कार्य आगामी आर्थिक वर्षको शुरूवातमा नै पूरा गरिनेछ । व्यापार व्यवसायको शुद्धतामा जोड दिँदै बजार अनुगमन कार्यलाई प्रभावकारी तुल्याइनेछ ।
१७। गाउँपालिका क्षेत्रभित्र रहेका सबैखाले व्यवसायीहरूलाई प्रोत्साहन गर्ने तथा सामानहरूको वैज्ञानिक मूल्य प्रणाली कायम गर्न सबै पसलहरूमा अनिवार्य मूल्य सूची राख्न लगाईनेछ ।स्थानीय उद्योग वाणिज्य संघसँगको सहकार्यमा व्यवसायीहरूको एकीकृत अभिलेख गाउँपालिकाको कार्यालयमा राखिनेछ । सो कार्यका लागि कम्प्यूटर अभिलेखन प्रणाली अवलम्वन गरिनेछ ।
१८। आर्थिक वर्ष २०७६र ७७ लाई कर संकलन वर्ष घोषणा गरी सबै व्यवसायीलाई करको दायरामा ल्याइनेछ र जनताको कर जनताकै लागि भन्ने मूलमन्त्रमा आधारित रही व्यवसायीहरूलाई सहयोग तथा सहुलियत दिने गरी कार्यक्रम तर्जूमा गरिनेछ ।

अध्यक्ष महोदय
१९। घरपझोङ गाउँपालिकाको विकासको आधारः पर्यटन पूर्वाधार भन्ने नाराका साथ आगामी आर्थिक वर्षमा पर्यटन क्षेत्रको विकास तथा उत्थानका लागि विभिन्न कार्यक्रमहरूको तर्जूमा गरिनेछ । गण्डकी प्रदेशको पर्यटन वर्ष २०१९ तथा नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी कार्यक्रमहरू बनाइनेछ । यस गाउँपालिका क्षेत्रभित्र रहेका विभिन्न पर्यटकीय क्षेत्रलाई घरपझोङ पर्यटन गन्तव्य क्षेत्रहरू घोषणा गरी कार्यक्रमहरू लागू गरिनेछ । आन्तरिक तथा वाह्य पर्यटकहरूको लागि यस गाउँपालिकालाई रोजाईको गन्तव्य बनाउन कार्यक्रमहरूको तर्जुमामा जोड दिइनेछ ।
२०। यस गाउँपालिकामा रहेका होटलहरूको तथ्याङ्क लिइनेछ र ती होटलहरूको वर्गीकरण गरी वेवसाइट वा मोबाइल एप्लिकेशनको निर्माण गरिनेछ । मुस्ताङ भ्रमण गर्न चाहने पर्यटकहरूले विश्वको जुनकुनै ठाउँबाट सहजै रूपमा आफ्नो रोजाईको होटल बुक गर्न सक्ने प्रविधिको विकास गर्न आवश्यक कार्य गरिनेछ । भरपर्दो र मर्यादित घरपझोङ बसाईको सुनिश्चितता गरिनेछ ।
२१। यस गाउँपालिका भित्रका होटल व्यवसायीहरूलाई मुलुकका अन्य शहरहरूका होटल व्यसायीहरूले गरेका असल अभ्यासको जानकारी गराउन अध्ययन भ्रमणको व्यवस्था मिलाईनेछ । यस कार्यमा नेपाल पर्यटन बोर्डलाई आर्थिक तथा प्राविधिक सहयोग गर्नका लागि अनुरोध गरिनेछ । नेपालका अन्य प्रसिद्ध पर्यटकीय क्षेत्रहरूले गरेका असल अभ्यासको जानकारी गराईनेछ ।
२२। बौद्ध गुम्बाहरूको प्रवर्धनमा जोड दिइनेछ । मुक्तिक्षेत्रको प्रवेश विन्दूको रूपमा रहेको यस गाउँपालिकामा धार्मिक पर्यटनको प्रवर्धन गरिनेछ । जोमसोममा पर्यटक सूचना केन्द्र स्थापना गरिनेछ । उक्त सूचना केन्द्रबाट पर्यटकहरूले गाउँपालिका तथा समग्र मुस्ताङ जिल्लाका पर्यटकीय स्थलहरूको जानकारी पाउनुका साथै आकस्मिक हाइ अल्टिच्यूट सम्बन्धी एकीकृत जानकारी पाउने व्यवस्था मिलाइनेछ । यो कार्यले पर्यटकको समयको बचत, रूचिको पर्यटकीय क्षेत्रको छनौट तथा स्वास्थमा आउनसक्ने आकस्मिक समस्या तथा त्यसबाट बच्ने उपायहरूको जानकारी पाउनेछन् । यस कार्यमा नेपाल पर्यटन बोर्ड तथा अन्य संघ संस्थाको सहयोग लिइनेछ ।
२३। यस गाउँपालिकामा होमस्टे सञ्चालनमा जोड दिइनेछ । होमस्टे स्थापना तथा प्रवर्धनका लागि सहयोग मिल्नेगरी सम्बन्धित व्यवसायीहरूलाई मुलुकका उत्कृष्ट होमस्टे सञ्चालन गरेका क्षेत्रहरूको अवलोकन गर्ने र सिक्ने अवसर आगामी आर्थिक वर्षको शुरूमै प्रदान गरिनेछ ।
२४। मिनी मुस्ताङ परियोजना यस गाउँपालिकाको निकै महत्वपूर्ण परियोजना हो । यस परियोजनाको निर्माणका लागि आगामी आर्थिक वर्षमा प्रदेश सरकार तथा संघीय सरकारको समेत सहयोगमा उल्लेख्य कार्यहरू प्रारम्भ हुनेछन् । आगामी आर्थिक वर्षको शुरूका महिनामै यस परियोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार गरिनेछ ।
२५। ढुम्वा ताल, मार्फा गाउँ, याकखर्क, छैरो गाउँ, चिमाङ गाउँ, ठिनी गाउँ तथा स्याङ गाउँहरूको प्राकृतिक सौन्दर्यताको प्रचार प्रसार सहितका विभिन्न कार्यहरू आगामी आर्थिक वर्षमा हुनेछन् । समग्र घरपझोङ गाउँपालिकाको तथ्याङ्क सहितको घरपझोङ फ्याक्ट्स ९न्जबचबउवजयलन ँबअतक० पुस्तक आगामी आर्थिक वर्षको शुरूकै महिनामा प्रकाशन गरिनेछ । जसले गर्दा गन्तव्य घरपझोङ तथा गण्डकी प्रदेश पर्यटन वर्ष २०१९ र नेपाल भ्रमण वर्ष २०२० लाई टेवा पुग्नेछ ।
२६। यस गाउँपालिका अन्तर्गत रहेको जोमसोम भ्यूटावरसम्म जाने पैदल बाटोको निर्माण कार्य प्रारम्भ भैसकेको छ । यस कार्यलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिइनेछ । यस सम्बन्धी कार्यका लागि प्रदेश तथा सङ्‍घीय सरकारको समेत सहयोग लिइनेछ । यस्ता पर्यटकीय स्थलहरूको निर्माणले पर्यटकको जोमसोम बसाईलाई लम्भ्याउन सहयोग पुग्नेछ र अन्ततोगत्वा गाउँपालिकाको आर्थिक विकासमा सहयोग पुग्नेछ ।
२७। वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको सहकार्यमा कालीगण्डकी नदीमा राफ्टिङ सञ्चालन सम्बन्धी सम्भाव्यता कार्य आगामी वर्ष शुरू गरिनेछ । प्रदेश सरकारको समपूरक लगानीमा मार्फा याकखर्क मोटरबाटोको निर्माण कार्य शुरू हुनेछ, जसले गर्दा पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्नेछ ।
२८। कालीगण्डकी नदीमा साहसिक जलयात्रा तथा स्टिमर सञ्चालनको लागि सम्भाव्यता अध्ययन गर्न आगामी आर्थिक वर्ष आवश्यक बजेटको व्यवस्था गरिनेछ ।
२९। यस गाउँपालिका कार्यक्षेत्र रहेका सहकारीहरूको दर्ता तथा नवीकरण कार्यहरू यसै गाउँपालिकाद्वारा व्यवस्थित गरिनेछ । आगामी आर्थिक वर्षदेखि गाउँ कार्यपालिकाको कार्यालयमा शाखा स्थापना गरी सहकारीहरूको व्यवस्थापन कार्यलाई प्रारम्भ गरिनेछ । सहकारीको विवरणलाई मन्त्रालयको सहयोगमा अनलाईन अद्यावधिक गरिनेछ । सहकारीका सदस्यहरू तथा व्यवस्थापकहरूको क्षमता अभिवृद्धिका लागि तालीम तथा प्रशिक्षणका कार्यक्रमहरू सञ्चालन हुनेछन ।
३०। सरकारी क्षेत्र, निजी तथा सहकारी क्षेत्रको समन्वयात्मक सहकार्यबाट केही नमूना विकासात्मक कार्यहरूको प्रारम्भ गरिनेछ ।
३१। यस गाउँपालिका क्षेत्रमा रहेका वित्तीय निकायहरूको सुरक्षाको प्रवर्धन हुने व्यवस्था मिलाइनेछ । यस कार्यालयबाट गरिने सबै भुक्तानीहरूलाई बैंकमार्फत् गर्ने व्यवस्था मिलाइनेछ । वित्तीय क्षेत्रहरूको सहयोग तथा सहकार्यमा गाउँपालिका तथा ती निकायहरूका लागि लाभका क्षेत्रहरूको पहिचान गरी कार्यक्रमहरू कार्यान्वयन गर्न अध्ययन प्रारम्भ गरिनेछ ।
३२। योजनावद्ध विकास प्रयासले मात्र लक्षित उद्देश्यहरू हासील गर्न सकिन्छः उपलब्ध श्रोत साधनको अधिकतम् उपयोग गर्न सकिन्छ । यस गाउँपालिकाको समग्र क्षेत्रहरूको समानुपातिक तथा समन्यायिक विकास प्रयासलाई अवलम्बन गर्नको लागि आगामी आर्थिक वर्षमा गाउँपालिकाको आवधिक योजना निर्माण गरिनेछ । तत्पश्चात सबै विकास निर्माण तथा कार्यक्रमहरू सोही योजनाबाट निर्देशित हुनेछन् ।
अध्यक्ष महोदय
अव म आगामी आर्थिक वर्षका लागि सामाजिक विकास तर्फका नीति तथा कार्यक्रमहरूलाई यस गरिमामय गाउँ सभाको बैठकमा प्रस्ताव गर्न चाहन्छु ।
सामाजिक विकास
३३। माध्यमिक तहसम्मको विद्यालयहरूको व्यवस्थापन संविधानतः अहिले गाउँपालिकाको अधिकार क्षेत्रभित्र रहेकोछ । यस गाउँपालिकामा रहेका सबैखाले विद्यालयहरूको प्रभावकारी व्यवस्थापनमा गाउँपालिकाले सहयोग गर्नेछ । ।
३४। सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधारका कार्यक्रमहरू सञ्चालन गरिनेछ ।संस्थागत विद्यालय तथा सामुदायिक विद्यालयहरूलाई समन्वयात्मक रूपमा असल अभ्यासहरूको आदान प्रदान गराउने नीति तथा कार्यक्रमहरू लागू गरिनेछ । सबै विद्यालयहरूको सञ्चालन तथा व्यवस्थापनमा सहयोग पुग्नेगरी गाउँपालिकाको आफ्नै शिक्षा नीति तथा ऐन आगामी आर्थिक वर्षमा तयार पारिनेछ ।
३५। पूर्व वाल विकास कक्षाहरूको भौतिक संरचनालाई अनुकरणीय सुधारको नीति लिइनेछ । पूर्व वाल विकास कक्षाहरूमा अध्यापनरत सहजकर्ताका लागि तालीम तथा प्रोत्साहन भत्ता दिने कार्यक्रमलाई आगामी आर्थिक वर्षमा निरन्तरता दिइनेछ ।
३६। शिक्षक तालीम कार्यक्रमलाई आगामी आर्थिक वर्षदेखि निरन्तर सञ्चालन गरिनेछ । विद्यालयहरूको भौतिक संरचना सुधारका लागि गण्डकी प्रदेश सरकार तथा संघीय सरकारको सहलगानीमा थप कार्यक्रमहरू लागू हुनेछन् ।
३७। विद्यालयस्तरमा भर्ना गरिने करार शिक्षकहरूलाई पूर्ण प्रतिस्पर्धामा आधारित बनाइनेछ । विद्यालयहरूमा विद्यूतीय हाजिरी प्रणाली लागू गर्न आवश्यक व्यवस्था मिलाइनेछ ।
३८। सबै सामुदायिक, संस्थागत तथा बौद्ध गुम्बाहरूमा सञ्चालन भएका विद्यालयहरूको अध्ययन अध्यापनमा सहयोग पुग्नेगरी कानूनी तथा प्रकृयागत सुधार गरिनेछ र त्यसका लागि आवश्यक सुधारका कार्यक्रमहरू सञ्चालन गरिनेछ ।
३९। स्वास्थ्य नै मानिसको अमूल्य निधी रहेको विषयमा यस गाउँसरकार दृढसंकल्पित छ र सोही बमोजिम कार्यक्रमहरूको कार्यान्वयन गर्नेतर्फ अग्रसर पनि छ । आगामी आर्थिक वर्षमा पनि विगत वर्षहरूमा जस्तै मानिसलाई शारिरीक, मानसिक तथा सामाजिक रूपमा स्वस्थ्य रहन सहयोग पुग्ने कार्यक्रमहरूको कार्यान्वयन गरिनेछ । यसका लागि प्रदेश तथा संघीय सरकारबाट घोषित कार्यक्रमहरू समेत समावेश हुनेछन् ।
४०। प्रत्येक वडामा कम्तिमा एक स्वास्थ्य संस्था रहनेगरी योजना गरिनेछ । स्वास्थ्य संस्थाहरूमा औषधीको उपलब्धता सुनिश्चित गरिनेछ । स्वास्थ्य संस्थामा कार्यरत जनशक्तिहरूलाई आवश्यकता बमोजिमका तालीमका कार्यक्रमहरू लागू हुनेछन् ।
गाउँ सभाका श्रदेय अध्यक्ष महोदय तथा सभाका सदस्यज्यूहरू
४१। वडाहरूमा कार्यरत महिला स्वयम्‍ सेविकाहरूलाई प्रदान गरिदै आएको प्रोत्साहन भत्तालाई आगामी वर्षपनि निरन्तरता दिइनेछ । सुत्केरी महिलाहरूलाई नेपाल सरकारबाट प्रदान गरिदै आएको पौष्टिक आहार खर्चका अलावा यस गाउँपालिकाले थप पौष्टिक आहार खर्च प्रदान गर्दै आएकोमा त्यो कार्यक्रम आगामी वर्ष पनि निरन्तर हुनेछ । गर्भवती महिलाहरूले नियमित स्वास्थ्य परीक्षण गराउने तथा स्वास्थ्य संस्थामा नै प्रसूति गराउन प्रोत्साहन गरिनेछ ।
४२। मुस्ताङ जिल्ला अस्पतालको नयाँ भवन निर्माण कार्य गण्डकी प्रदेश सरकारको योजनामा आगामी आर्थिक वर्ष नै शुरू हुनेछ । सो कार्यका लागि गाउँपालिकाले आवश्यक समन्वय र सहकार्य गर्नेछ र समयमानै भवन निर्माणको कार्य सम्पन्न गराउन पहल गर्नेछ ।
४३। स्वच्छ पीउने पानीको व्यवस्था तथा स्वच्छ वातावरणमा जिउन पाउने संविधान प्रदत्त मौलिक हकप्रति यस गाउँपालिका सचेत र सजग रहेकोछ । सबै गाउँपालिकाबासीहरूलाई स्वच्छ पीउने पानीको व्यवस्था गर्न स्थानीय सरकार अग्रसर रहिरहेको छ ।
४४। आगामी आर्थिक वर्षमा संघीय सरकार तथा गण्डकी प्रदेश सरकार समेतको लगानीमा ठिनी, ठुम्बा, जोमसोम तथा स्याङ्‍मा खानेपानी आयोजनाहरू सञ्चालन हुनेछन् । अब बनाइने खानेपानी परियोजनामा गाउँपालिकाले एक घर एक धाराको नीति लिनेछ ।
४५। सरसफाई सब्य समाजको द्योतक पनि हो । यसै विषयलाई ह्दयङ्‍म गर्दै गाउँपालिकाको सरसफाईमा स्थानीय सरकार लागिरहेको छ । पवित्र कालीगण्डकी नदीको पवित्रतालाई अक्षुण्ण राख्दै गाउँपालिकाले फोहरमैला व्यवस्थापनमा विशेष ध्यान दिनेछ ।
४६। चालू आर्थिक वर्षमा नै गाउँपालिका क्षेत्रमा वर्षौंदेखि संकलित सिसाहरू समेतको नकुहिने फोहरमैला संकलन गरी पोखरा पठाउने कार्यको प्रारम्भ भएकोछ । यस कार्यलाई निजी संस्था समेतको संलग्नतामा आगामी वर्षमा समेत निरन्तरता दिइनेछ । फोहरमैला व्यवस्थापन सम्बन्धी जनचेतनामूलक तालीमको आयोजना गरिनेछ र सकेसम्म थोरै फोहोर उत्पादन गर्ने र उत्पादित फोहोर घरमै व्यवस्थापन गर्ने तरिका सिकाइनेछ । घरमा व्यवस्थापन गर्न नसकिएको फोहरलाई त्यसको वर्गीकरण गरी छुट्टाछुट्टै प्याकेटीङ गरी सम्बन्धित ठाउँमा पठाउने र घरपझोङ गाउँपालिकालाई स्वच्छ र सफा बनाउने नीति लिइनेछ ।
४७। दैनिक जीवनमा प्रयोगमा ल्याइराखिएको प्लाष्टिकको प्रयोगलाई न्यूनीकरण गर्दै प्लाष्टिकको विकल्पमा अन्य झोलाहरूको प्रयोग गर्ने पद्दतिलाई अवलम्बन गरिनेछ । यस कार्यले हिमाल पारीको यो सुन्दर गाउँपालिकालाई अझै सुन्दर बनाउनेछ ।
४८। जोमसोम बजारको ट्राफिक व्यवस्थापन तथा पार्किङ व्यवस्थालाई आगामी वर्ष थप सुदृढ बनाइनेछ । यस कार्यमा गाउँपालिकाबासी सबै जनताको साथ र सहयोगको अपेक्षा गरिएको छ ।
४९। घरपझोङ गाउँपालिका हिन्दू र बौद्ध धर्मालम्बीहरूको अनुपम मिश्रणको नमूना हो । यस क्षेत्रमा भएका सबै धर्म, संस्कृति, चालचलन, रीतिरिवाज, भेषभूषाको गाउँपालिका संरक्षण, प्रवर्धन गर्दै जानेछ । थकाली खाना आज देशैभरी प्रचलित छ । यस्तै खाना सहितको थकाली होमस्टे स्थापना गर्न गाउँपालिकाले प्रोत्साहन गर्ने नीति लिनेछ ।
५०। होमस्टे सञ्चालकहरूलाई यस सम्बन्धी थप ज्ञानको लागि मुलुकका उत्कृष्ठ होमस्टे सञ्चालन भएका क्षेत्रहरूको अवलोकन अध्ययन भ्रमणको व्यवस्था मिलाइनेछ । होमस्टेमा अनिवार्य स्थानीय उत्पादनको प्रयोग गरी खानेकुरा बनाउन प्रोत्साहन गरिनेछ र सोही स्थानमा स्थानीय साँस्कृतिक कार्यक्रमबाट पाहुनाहरूको स्वागत गर्ने व्यवस्था मिलाउनेगरी नीति बनाइनेछ ।
५१। आजको समाज मानिसहरूमा विभेद गर्ने, पुरुष र महिलामा फरक व्यवहार गर्ने हुनै सक्दैन र हुनु हुँदैन । तुलनात्मक रूपमा मुस्ताङ जिल्ला महिलामैत्री जिल्ला नै हो । यसलाई कायमै राख्दै महिला सशक्तिकरणका थप कार्यक्रमहरू आयोजना गरिनेछ । आमा समूहहरूलाई थप सशक्तिकरण गरिनेछ ।
५२। स्थानीय विकास निर्माणका कार्यक्रमहरूमा महिलाहरूको मात्र सहभागिता भएका केही उपभोक्ता समिति गठन गरी नमूनाका रूपमा आयोजना कार्यान्वयन गर्ने नीति आगामी वर्षदेखि शुरूवात गरिनेछ ।यस्ता कार्यहरूले महिलालाई थप प्रोत्साहित गर्नेछ र आगामी दिनहरूमा थप महिलामैत्री कार्यक्रमहरू प्रस्तावित हुनेछन् । उपभोक्ता समितिहरूमा महिलाहरूलाई अध्यक्ष बन्नको लागि प्रोत्साहन गर्ने नीति लिइनेछ ।
५३। महिला सशक्तिकरणका लागि आगामी वर्षमा थप तालीमका कार्यक्रमहरू आयोजना हुनेछन् । आमा समूहका समाज घरहरूको मर्मत संभार गर्दै आवश्यक ठाउँमा नवनिर्माण समेत गरिनेछ ।
५४। जातिय विभेद समाजको कलंक हो र विकासको विरोधी हो । त्यसैले जातिय विभेद अन्त्यका लागि गाउँपालिकाले कार्यक्रमहरू आयोजना गर्नेछ । जातिय विभेदको समूल अन्त्यका लागि गाउँपालिकाले आवश्यक योजना निर्माण गरी कार्यक्रम लागू गर्नेछ ।
५५। बालबालिका, ज्येष्ठ नागरिक तथा फरक क्षमता भएका व्यक्तिहरूका लागि विशेष कार्यक्रमहरूको आयोजना गरिनेछ ।युवा पिंडीहरूलाई शारिरिक तथा मानसिक विकासका कार्यक्रमहरू दिनका लागि खेलकूद पूर्वाधार निर्माण गर्दै लगिनेछ ।
५६। यस गाउँपालिका अन्तर्गत रहेका न्यूनतम रोजगारी नपाएका बेरोजगार व्यक्तिहरूको लागि प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत् न्यूनतम रोजगारीको अवसर प्रदान गर्ने नीति आगामी आर्थिक वर्षमा पनि लिइनेछ ।
अध्यक्ष महोदय
अव म आगामी वर्ष यस गाउँपालिकाले पूर्वाधार विकास तर्फ अंगीकार गर्ने नीति तथा कार्यक्रमहरूलाई संक्षेपमा प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
पूर्वाधार विकास
५७। गाउँपालिकाको मुख्य प्रशासनिक भवन रहेको स्थान जोमसोम बजारदेखि सबै वडा कार्यालयहरू जोड्ने कच्ची सडकहरूको स्तरोन्ती गर्दै मर्मत संभार गरिनेछ । यस्ता सडकहरूलाई बाह्रै महिना सञ्चालन गर्न सकिने बनाइनेछ ।
५८। सबै ग्रामीण सडकहरूलाई दीगो रूपमा व्यवस्थापन गर्ने नीति लिइनेछ । गाउँपालिका भएर जाने बेनी –जोमसोम –कोरला सडक समयमानै पूरा गर्नको लागि सम्बन्धित निर्माण व्यवसायी तथा सरकारका निकायहरूलाई घच्घच्याइनेछ ।
५९। यस गाउँपालिका वडा नं। १ छैरोमा गण्डकी प्रदेश सरकारको लगानीमा आगामी वर्ष कालीगण्डकी नदीमाथि मोटरेवल पुल निर्माणको काम अघि बढाइनेछ । त्यस्तै मार्फा धौलागिरी बेसक्याम्प जाने पर्यटन सडक योजना गाउँपालिका तथा गण्डकी प्रदेश सरकारको समपूरक लगानीमा आगामी वर्षबाट निर्माण कार्य प्रारम्भ गरिनेछ । आवश्यक स्थानहरूमा सङ्‍घीय सरकारको सहयोगमा झोलुङ्गे पुलको निर्माण गरिँदै लगिनेछ । झोलुङ्गे पुलको निर्माणमा आवश्यक पर्ने साझेदारी स्थानीय सरकारले गर्नेछ ।
६०। यस गाउँपालिकाको मुख्य पेशा मध्ये कृषि पेशा पनि एक भएकाले सिचाईँलाई प्राथमिकतामा राखिएको छ । स्याउ तथा अन्य वालीहरूका लागि सिँचाई अनिवार्य सर्त हो । त्यसैले गाउँपालिका क्षेत्रभित्र सिँचाई पूर्वाधार विकासमा विशेष जोड दिइनेछ ।
६१। आगामी वर्ष ठिनी जोमसोम सिँचाई, स्याङ सिँचाई, छैरो सिँचाई, चिमाङ सिँचाई तथा धवाङ मार्फा सिँचाईँ आयोजनाहरू प्रारम्भ हुनेछन् र अन्य पुरानालाई मर्मतसंभार गर्ने तथा नयाँ सिँचाईका योजनाहरूलाई आवश्यकता अनुसार निर्माण गर्ने नीति लिइनेछ । सबै परम्परागत कुलोहरूको मर्मतसंभार गरिनेछ । खेतियोग्य जमिनमा सिँचाई सुविधा पुर्याउने स्थानीय सरकारको नीति रहनेछ ।
६२। यस गाउँपालिकाका परम्परागत घरहरूलाई संरक्षण गर्दै नयाँ घरहरूका लागि अनुमति दिने स्थानीय सरकारको नीति रहनेछ । नयाँ घरहरू निर्माण गर्दा भवन निर्माण सम्बन्धी नेपाल सरकारको मापदण्ड तथा यस गाउँपालिकाको नक्सापास सम्बन्धी मापदण्ड, २०७५ को अवलम्बन गर्ने नीति लिइनेछ । नयाँ बनाउने घरहरूको लागि घरधनीहरूले अनिवार्य रूपमा नक्सापास गर्नुपर्नेछ भने आगामी आर्थिक वर्षभरीमा यस गाउँपालिका भित्र रहेका पुराना घरहरूका लागि घर नंवर प्रदान गरी अभिलेखिकरण गर्ने कार्य पूरा गरिनेछ ।
६३। हालका दिनहरूमा यस गाउँपालिकाले ऊर्जा संकट बेहोरिरहेको अवस्था छ । यो संकटबाट जनतालाई उम्काउन गाउँपालिकाले आगामी वर्ष विभिन्न नीतिहरू अवलम्बन गर्नेछ ।केन्द्रीय प्रसारण लाईनबाट सहजरूपमा विद्यूत शक्ति प्राप्त गर्नका लागि सम्बन्धित निकायहरूमा पहल गरिनेछ ।
६४। गाउँपालिका क्षेत्रभित्र निजी तथा अन्य सरकारी तथा गैरसरकारी क्षेत्रबाट लघू तथा साना जलविद्यूत उत्पादन गर्न खोजेमा सहयोग तथा समन्वय गरिनेछ ।
६५। यस गाउँपालिका तथा मुस्ताङ जिल्ला नै समग्रमा वायू ऊर्जा र सौर्य ऊर्जा उत्पादनका लागि असिम सम्भावना भएका क्षेत्रहरू हुन् । सौर्य ऊर्जा उत्पादन गरी जनताका लागि वितरण गर्ने सम्बन्धमा आगामी वर्ष सम्भाव्यता अध्ययन गरिनेछ । जोमसोम बजारलाई सौर्य ऊर्जा जडान गरी सडक वत्ती उपलब्ध गराउन बैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रसँगको सहकार्यमा कार्यक्रम अगाडि बढाइनेछ । जोमसोम बजारको नतिजालाई मूल्यांकन गर्दै भविष्यमा गाउँपालिका क्षेत्रका सबै सडक वत्तीहरू सौर्य ऊर्जाबाट सञ्चालन गर्ने सम्बन्धमा आवश्यक अध्ययन गरिनेछ ।
६६। सौर्य ऊर्जाको नमूना परिक्षणका लागि यसै वर्ष छैरोको सम्पूर्ण बस्तीमा सौर्य ऊर्जा प्रविधि जडान गर्ने कार्य पूरा हुनेछ ।
६७। ढुम्बातालमा सौर्य ऊर्जा प्रविधि जडान गरी नमूना पर्यटकीय क्षेत्र बनाउने सम्बन्धमा आगामी आर्थिक वर्षमा सम्भाव्यता अध्ययन गरिनेछ । मुस्ताङ भ्रमण गर्ने पर्यटकहरूको लागि अनिवार्य गन्तव्य बनाई तिनीहरुको एक दिन बसाई लम्ब्याउने गरी ढुम्बा तालको समग्र व्यवस्थापन गर्ने सम्बन्धमा आवश्यक गृह कार्य शुरू गरिनेछ ।
६८। यस गाउँपालिकाका सबै वडाहरूमा सञ्चार सुविधा पुगेको विद्यमान अवस्था रहेको छ । सबै वडा कार्यालयहरूमा विद्यूतीय माध्यमबाट सुचनाहरू आदानप्रदान गर्ने नीति लिइनेछ ।
६९। गाउँ कार्यपालिकाको कार्यालयले आफ्नै वेभसाइट सञ्चालनमा ल्याएकोछ । सबै जनसरोकारका सूचनाहरू वेभसाइटमा अपलोड गरी सर्वसाधारणको पहुँचमा पु(याइनेछ । आगामी आर्थिक वर्षमा कार्यालयको आफ्नै मोबाइल एप्लिकेशन तयार गरी सञ्चालनमा ल्याइनेछ । जनप्रतिनिधिहरूलाई समेत सामाजिक सञ्जालको प्रयोग मार्फत् सूचनाहरू आदान प्रदान गर्न आवश्यक तालीमको व्यवस्था मिलाइनेछ । जिल्लामा रहेका सबै पत्रकारहरूसँग समन्वयात्मक रूपमा सूचनाहरूको पहुँच पु(याइनेछ र रेडियो मुस्ताङको नियमित प्रसारण गराउन गाउँपालिकाले आवश्यक सहयोग गर्नेछ ।

अध्यक्ष महोदय,
अब म आगामी आर्थिक वर्षका लागि वातावरण तथा विपद् व्यवस्थापनका क्षेत्रमा गाउँपालिकाले अंगिकार गर्ने नीति तथा कार्यक्रमहरू प्रस्तुत गर्न चाहन्छु ।
वातावरण तथा विपद् व्यवस्थापन
७०। यस गाउँपालिका क्षेत्रमा पाइने जैविक विविधताको संरक्षणमा विशेष जोड दिइनेछ । नाङ्गा भूभागलाई वृक्षारोपण गर्ने तथा कालीगण्डकीको कटान न्यूनीकरणका लागि संघीय तथा प्रदेश सरकारको सहयोगमा कार्यक्रम अगाडी बढाइनेछ ।
७१। जलाधार तथा पानीढलोको संरक्षणका लागि योजनाहरू बनाइ लागू गरिनेछ ।अन्नपूर्ण संरक्षण आयोजनाको समेत समन्वयमा जिल्ला समन्वय समिति मुस्ताङ तथा अन्य गाउँपालिकाहरूको संलग्नतामा कालीगण्डकी नदीमा रहेको नदीजन्य पदार्थहरूको उपयोग गर्नको लागि वातावरणीय प्रभाव मूल्याङ्कन ९भ्क्ष्ब्० का लागि पहल गरिनेछ ।
७२। दीगो विकास लक्ष्यलाई मध्यनजर गर्दै गाउँपालिका क्षेत्रभित्र प्रदूषण नियन्त्रण गर्न विभिन्न कार्यक्रमहरूको तर्जूमा गरी लागू गरिनेछ । घरबाट निस्कने फोहोरमैलालाई व्यवस्थापन गर्ने तथा घरयासी प्रयोजनको लागि प्रयोगमा आइरहेको प्लाष्टिकको अत्यधिक प्रयोगलाई न्यूनीकरण गर्दै प्लाष्टिकको विकल्पका लागि प्रारम्भिक कार्यहरू आगामी आर्थिक वर्षबाटै शुरू गरिनेछ । कालीगण्डकी नदीमा फोहर विसर्जन गर्ने कार्यलाई पूर्ण रूपमा बन्देज गरिनेछ ।
७३। जलवायू परिवर्तनबाट श्रृजित समस्याहरूको न्यूनीकरणका लागि जनचेतना अभिवृद्धिका कार्यक्रमहरू तय गरी लागू गरिनेछ । फोहरमैला व्यवस्थापनको लागि दीगो र भरपर्दो व्यवस्था मिलाइनेछ ।
७४। जल उत्पन्न प्रकोप नियन्त्रण कार्यका लागि विपद् व्यवस्थापन कोष तथा आकस्मिक कोषको व्यवस्था गरी प्रभावकारी रूपमा कार्यान्वयन गरिनेछ । मुस्ताङ जिल्लाका सबै स्थानीय तहहरूको सहकार्यमा जिल्लामा विपद् व्यवस्थापनका लागि सामाग्रीहरुको व्यवस्था गरिनेछ । यस कार्यका लागि जिल्लाका सबै सुरक्षा निकायहरू तथा अन्य सरोकारवाला संस्थाहरूसँग सहकार्य गरिनेछ ।
अध्यक्ष महोदय,
अब म आगामी आर्थिक वर्षका लागि संस्थागत विकास, सेवा प्रवाह तथा सुशासनका क्षेत्रमा गाउँपालिकाले अंगिकार गर्ने नीति तथा कार्यक्रमहरू प्रस्तुत गर्न चाहन्छु ।
संस्थागत विकास, सेवा प्रवाह तथा सुशासन
७५। निर्वाचित जनप्रतिनिधीहरूलाई समय सापेक्ष सीप विकास तथा सूचना प्रविधिको प्रयोग सम्बन्धमा प्रशिक्षित हुने कार्यक्रमहरुको आयोजना गरिनेछ । विभिन्न सरकारी कामकाज सम्बन्धी विद्यमान नीतिगत तथा कार्यसम्पादन सम्बन्धी तालीम गोष्ठीहरूको आयोजना गरिनेछ ।
७६। जनताका लागि सेवा प्रवाह गर्ने कर्मचारी संयन्त्रको क्षमता अभिवृद्धि गरी कार्यसम्पादनलाई चुस्त दुरुस्त पारिनेछ । कर्मचारीहरूका लागि सूचना प्रविधिको प्रयोग तथा सीप विकास सम्बन्धी तालीमहरूको आयोजना गरिनेछ ।क्षमता विकास सम्बन्धी पुनर्ताजगी तालीम तथा अध्ययन भ्रमणका कार्यक्रमहरू समेत आयोजना गरिनेछ ।
७७। कर्मचारीहरूको उत्प्रेरणा अभिबृद्धि गराउने, मनोबल उच्च पार्ने र त्यसको प्रभाव सेवाप्रवाहमा देखाउनको लागि सूचकमा आधारित प्रोत्साहन प्रणाली अवलम्बन गरिनेछ । फ्लेग्जी टाइम ९ँभिहष् त्ष्mभ० को कार्यान्वन गर्ने तथा अतिरिक्त समयमा कार्यालयमा काम गरे बापत कार्यविधि बनाई प्रोत्साहन भत्ताको व्यवस्था गरिनेछ ।
७८। आगामी आर्थिक वर्षबाट लागू हुनेगरी नेपाल सरकारले गरेको कर्मचारीहरूको तलबमानको वृद्धिको अनुपातमा यस गाउँपालिकामा कार्यरत कर्मचारीहरूको तलबमानमा समेत समायोजन गरिनेछ ।
७९। सबै वडा कार्यालयहरूलाई थप व्यवस्थित गरिनेछ । आवश्यक फर्निचर तथा विद्यूतीय सामग्रीहरूको अपुग नहुने गरी प्रवन्ध गरिनेछ । अधिकांश वडा कार्यालयहरूको आफ्नै भवन बनिसकेको अवस्था छ । गाउँ कार्यपालिकाको कार्यालयको नयाँ भवन निर्माण कार्य आगामी आर्थिक वर्षबाट शुरू गरिनेछ ।
८०। गाउँ कार्यपालिकाको कार्यालय तथा अन्तर्गतका वडा कार्यालयहरूमा रहेको अपुग कर्मचारी संख्यालाई पदपूर्तिका लागि लोकसेवा आयोगबाट विज्ञापन भईसकेको छ । लोकसेवाबाट उम्मेदवार सिफारिस भई आइनसक्ने अवधिका लागि अत्यावश्यक प्राविधिक जनशक्ति करारमा लिइनेछ ।
८१। सबै कर्मचारीहरूको न्यूनतम कार्यसम्पादन सूचक निर्धारण गरिनेछ । गुण र दोषको आधारमा पुरस्कार र दण्ड प्रणाली अवलम्बन गरिनेछ । सबै शाखाहरू तथा वडा कार्यालयहरू बीच ठाडो र तेश्रो सहसम्बन्ध कायम गरी प्रविधिमा आधारित कार्यसम्पादन प्रणालीको अवलम्बन गरिनेछ ।
८२। कार्यालयहरूले आआफ्नो वार्षिक कार्ययोजना बनाई लागू गर्ने व्यवस्था मिलाईनेछ । आर्थिक वर्षको अन्त्यमा मात्र कामको चाप पर्ने, अन्य महिनाहरूमा न्यूनतम काम हुने प्रथाको अन्त्य गरिनेछ । सबै उपभोक्ता समितिहरूलाई योजना कार्यान्वयन तथा फछ्र्यौट सम्बन्धी तालीम दिइनेछ जसले गर्दा योजना भुक्तानीको समयमा नियमानुसार भुक्तानी सहज हुनेछ । गाउँ कार्यपालिकाको कार्यालयबाट हुने सेवा प्रवाहलाई प्रभावकारी बनाइनेछ ।
८३। आजको प्रविधिको युगमा सेवा प्रवाहलाई पनि प्रविधिमा आधारित बनाउनु पर्ने हुन्छ । वडा कार्यालयहरूमा इन्टरनेटको पहुँच पुगिसकेको अवस्थामा अवको सेवा प्रवाह प्रविधिमा आधारित हुनुपर्दछ । आगामी वर्ष सबै कार्यालयहरुको राजस्व संकलन कार्य अनलाईन सफ्टवयर मार्फत् हुने व्यवस्था मिलाईनेछ ।
८४। सबै वडा कार्यालयहरूलाई गाउँ कार्यपालिकाको कार्यालयसँग अनलाईन प्रविधिबाट जोडिनेछ । आवश्यकता अनुसार गाउँ कार्यपालिकाको कार्यालयबाट सोझै वडा कार्यालयहरूलाई समन्वय गर्न सकिने व्यवस्था मिलाईनेछ । भिडियो कन्सफेरन्स वा यस्तै प्रविधिको सहयोगले सबै वडा कार्यालयहरूलाई तुरून्तै गाउँपालिकाका पदाधिकारीर कर्मचारी तथा प्राविधिकबाट आयोजनाको विषयमा सल्लाह सुझाव दिन सकिने व्यवस्था मिलाइनेछ ।
८५। कार्यालयको अभिलेख व्यवस्थापनलाई समयसापेक्ष वैज्ञानिक तथा विश्वसनीय बनाइनेछ । कार्यालयमा विद्यूतीय पुस्तकालय खोल्नका लागि सम्भाव्यता अध्ययन गरिनेछ ।
८६। आन्तरिक आयलाई अधिकतम् प्रतिफलका क्षेत्रमा लगानी गरिनेछ । धेरै कर वुझाउने करदातालाई पुरस्कृत गर्ने नीतिलाई कायमै राखिनेछ । कर संकलनलाई सफ्टवेयर मार्फत् अभिलेखांकन गर्ने र कर प्रशासनलाई सरलीकृत र सजिलो पारिनेछ ।
८७। यस गाउँपालिकाद्वारा विनियोजन गरिएको बजेटको अधिकतम् उपयोग हुने प्रवन्ध गरिनेछ । आयोजना तथा कार्यक्रम कार्यान्वयनमा मितव्ययीता कायम गरिनेछ । सार्वजनिक परीक्षण, सार्वजनिक सुनुवाई, सामाजिक परिक्षण, आयोजना स्थलमा होडिङ बोर्ड राख्नेजस्ता सुशासन प्रवर्धनका सूचकहरूको प्रयोगमा अनिवार्य गरिनेछ । उपभोक्ता समितिले गर्ने कार्यमा नियमानुसार न्यूनतम् साझेदारीको सुनिश्चतता गरिनेछ । उपभोक्ता समितिहरूबाट गर्न नसकिने जटिल कार्यहरूलाई समयमानै अन्य विधिबाट योजना कार्यान्वयन गर्ने प्रकृया अघि बढाइनेछ ।
८८। आन्तरिक लेखापरीक्षणलाई प्रभावकारी तुल्याउने तथा कानून बमोजिम मात्र खर्च गर्ने परिपाटी मिलाइनेछ ।
८९। माथि उल्लिखित नीतिहरूको कार्यान्वयन गर्नको लागि आवश्यकता अनुसार गाउँपालिकाले कानून बनाई लागू गर्नेछ ।
९०। उल्लिखित बमोजिमका नीतिहरुको कार्यान्वयनका लागि गरिमामय गाउँसभाका सबै सदस्यज्यूहरू, कर्मचारी, आम जनता, वुद्धिजिवी तथा सबै सरोकारवाला घरपझोङवासीको साथ र सहयोगको अपेक्षा लिएको छु । सरोकारवाला सबैको साथ र सहयोगले नै घरपझोङ गाउँपालिकाको ूसमावेशी, सामाजिक रूपान्तरण, प्रकृति संरक्षण र संस्कृतिू,स् ूकृषि, पर्यटन, पर्यावरण, पूर्वाधार घरपझोङको समृद्धिू भन्ने गाउँपालिकाको नारा तथा गण्डकी प्रदेश सरकारले अवलम्बन गरेको समृद्ध प्रदेश, सुखी नागरिकको दीर्घकालिन सोंच र नेपाल सरकारले अवलम्बन गरेको समृद्ध नेपाल, सुखी नेपाली को नारा पूरा हुनेछ भन्नेमा विश्वास लिएको छु ।

पाँचौ गाउँसभामा उपाध्यक्ष तथा स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति संयोजक सर्मिला गुरूङले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको पूर्ण पाठ