नेकपा मजदुर नेता काफ्लेसहित ४ विरुद्ध मुद्दा दायर

अख्तियारले नेकपाका मजदुर नेता खगेन्द्रकुमार काफ्लेसहित ४ जना विरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र गण्डकीमा सवारी चालक अनुमतिपत्र लिनका लागि फारम भर्ने सिलसिलामा हेभी इक्विपमेन्ट डिभिजन कार्यालय पोखरा, कास्कीमा द्वितीय अपरेटर पदमा कार्यरत कुमार लामिछाने र मेट्रो ड्राइभिङ स्कूलका सञ्चालक काफ्लेले लिखित परीक्षा र ट्रायल पास गराइदिने भनी सेवाग्राहीसँग घुस लिएको प्रमाणित भएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिई गएको टोलीले सेवाग्राहीसँग ४० हजार घुस बापतको रकम लिइसकेको उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।

घटनाबारे अनुसन्धान हुँदा यातायात कार्यालयका खरिदार सोमलाल तिवारी र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रहरी सहायक निरीक्षक केशरबहादुर राय मल्लसमेत मिलेको प्रमाणि भएकाले हेभी इक्विपमेन्ट डिभिजन कार्यालय पोखराका द्वितीय अपरेटर कुमार लामिछानेले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र मेट्रो ड्राइभिङ स्कुलका सञ्चालक खगेन्द्रप्रसाद काफ्लेले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) कसुर गरेको पुष्टि भएको अख्तियारले जनाएको छ । उनीहरु विरुद्ध जनही बिगो ४० हजार कायम गरी अख्तियारले मुद्दा दायर गरेको हो ।

यातायात कार्यालय पोखराका खरिदार सोमलाल तिवारी र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रहरी सहायक निरीक्षक केशर बहादुर राय मल्लले पनि मतियारको भूमिका खेलेकाले उनीहरुलाई पनि ४० हजार नै बिगो कायम गरी मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।