ताजा समाचार

असार ११ गते २०७६

संसारको आखाँ रसाउने बाबुछोरीको तस्बिरको कथा यस्तो छ

रियो ग्रान्डी नदीले दक्षिण-पश्चिम अमेरिका र मेक्सिकोको सीमा छुट्याउँछ। रियो ग्रान्डी देखि नजिकै छ, मेक्सिकोको माटामोरोस सहर।

जुलिया ले डक त्यही सहरबाट मेक्सिकोको  ला जर्नाडा पत्रिकामा रिपोर्टिङ गर्छिन्।

जुलियाले खिचेको एक तस्बिरले अहिले लाखौंको मुटु हल्लाइरहेको छ। नदीमा तैरिरहेका मृत बाबुछोरीको उक्त तस्बिर सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ।

कतिपयले यो तस्बिरलाई तीन वर्षअघि ग्रिस जान लाग्दा समुद्रमा डुबेरमा मरेका सिरियाली बालकको तस्बिरसँग तुलना गरेका छन्।

तस्बिरले अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अवलम्वन गरेको आप्रवासी नीतिमाथि पनि गम्भीर प्रश्न उठाएको छ।

विश्वको ध्यान खिचेको ती बाबुछोरीको तस्बिरको कथा जुलियाले बेलायती पत्रिका द गार्डियनलाई सुनाएकी छन्।

आइतबार बिहान रियो ग्रान्डी नदीको छेउमा एक महिला आत्तिएर गुहार मागिरहेकी थिइन्। हामी उनलाई पछ्याउँदै गयौं। उनी बेस्सरी चिच्याउँदै आफ्नो छोरीलाई नदीले बगाएर लग्यो भन्दै थिइन्।

पछि थाहा भयो उनको नाम भेनिसा आभालोस रैछ। एल साल्भाडोरबाट उनको परिवार गत अप्रिलमा अमेरिकी सपना पछ्याउँदै उत्तरतर्फ लागेका थिए।

खोजी र उद्धार गर्न गएका अमेरिकी अधिकारीसँग उनले आफूहरू दुई महिनादेखि मेक्सिकोमा बसेको र अमेरिकामा शरणार्थी बन्न खोजेको बताइरहेकी थिएन्।

मेक्सिकोमा हुँदा उनीहरूले ह्युम्यानिटेरियन भिसाका लागि निवेदन दिएका थिए। फेरि उनीहरूको मन फेरियो र बस चढेर अमेरिकी सीमानजिक पुगे।

आइतबार बिहान बसबाट ओर्लिनासाथ उनीहरू रियो ग्रान्डीमाथि बनेको पुल चढेर शरणार्थीका लागि निवदेन दिन गए। बिदा परेकाले अमेरिकी अध्यागमन कार्यालय बन्द रैछ। उनीहरू निराश हुँदै मेक्सिकोतिर फर्के। मेक्सिकोको सीमामा उनीहरूजस्तै शरणार्थी बन्न चाहने कैयौं मानिसहरू थिए।  

केही महिनाअघिसम्म १८ सय मानिस शरणार्थीको अन्तरवार्ता दिन कुरिरहेका थिए। अहिले त्यो संख्या घटेर तीन सयमा झरेको छ।  अमेरिकी अध्यागमन अधिकारीले सातामा तीन दिनमात्र शरणार्थी बन्न चाहनेको अन्तर्वार्ता लिने गर्छन्। अन्तर्वार्ता दिने पालो पाउनमात्र महिनौं कुर्नुपर्छ।  

पुलबाट फर्किँदै गर्दा भेनिसाका पतिले मार्टिनेज नदीतिर हेर्दै रोकिए र भने- हो, त्यहाँबाट हामी पारि जान सक्छौं।

‍ट्रम्प प्रशासनले गैरकानुनी आप्रवासीलाई देश निकाला गर्ने अभियान सुरू गरेकाले उनीहरूलाई कुरेर शरणार्थी भिसा पाइने आशा थिएन।  

मेक्सिकोतिर पुगेपछि मार्टिनेजले पत्नीलाई किनारामा कुर्न भने र दुई वर्ष पनि नपुगेकी छोरीलाई  बोकेर उर्लिरहेको रियो ग्रान्डीमा हाम फाले। भेल पार गरेर बाबुछोरी अमेरिकातिर पुगे।

मार्टिनेजले छोरीलाई छेउमा राखे र पत्नीलाई  लिन फेरि  नदीमा हेलिए। भेनिसालाई पनि मेक्सिकोबाट अमेरिका ल्याउन सके उनीहरूको अमेरिका सपना पूरा हुने थियो। त्यसो हुन केही मिनेटमात्र बाँकी थियो।

तर भैदियो उल्टो। जसै मार्टिनेज नदीमा पसे, छोरी पनि डराइन् सायद बाबुले जस्तै नदीमा हाम फालिन्।

मार्टिनाज छोरीलाई बचाउन फर्किए तर भेलले बगाएर उनलाई तल पुर्‍याइसकेको थियो। उनी छोरीलाई भेटाउन त्यतैतिर पौडिए।      

विदा भएकाले त्यो दिन नदी किनारमा साइकल चलाइरहेका र दौडिरहेका धेरै मानिस थिए तीमध्ये कसैले उद्धारकर्तालाई खबर गरिदियो। राति ११ बजेसम्म उद्धारकर्ताले नदीले बगाएका बाबुछोरीलाई खोजे तर फेला पार्न सकेनन्।

सोमबार बिहान सवा १० बजेतिर उद्धारकर्ताले दुई लास भेटाए।  बाबुछोरीका लास  नदी किनारमा तैरिरहेका थिए। सानी फुच्चीले आफ्ना बुवाको घाँटीमा अँगालो हालेकी थिइन्। त्यही बेला मैले यो तस्बिर खिचेकी हुँ।

धेरै वर्षदेखि मैले प्रहरी र अपराधबारे रिपोर्टिङ गरेकी छु। धेरै लास देखेकी छु। तीमध्ये धेरै मान्छे तीव्र गतिमा बग्रे रियो ग्रान्डीमा डुबेर मरेकाहरू पनि थिए।

रिपोर्टिङ नै त्यही विषयमा गर्ने भएपछि त्यस्ता कुरालाई सामान्य रूपमा लिनैपर्छ। तर जब कुनै बाबुले भेलले नबगाओस् भनेर टि-सर्टभित्र छोरीलाई लुकाएको तस्बिर देखिन्छ, भावुक हुन्न सकिन्न। उनी आफ्नी छोरीलाई बचाउन खोज्दाखोज्दै  बिते।

के यो घटनाले केही परिवर्तन गर्ला?

मलाई लाग्छ-गर्नुपर्छ। यो परिवारसँग केही थिएन। अलि राम्रो जिन्दगी बाँच्न पाइन्छ कि भनेर उनीहरूले सकेसम्मका सबै जोखिम मोले। यदि यस्ता दृश्यहरूले पनि हामीलाई फेरि सोच्ने बनाउँदैन। हाम्रा नीति निर्माताहरूलाई छुँदैन भने पक्कै पनि हाम्रो समाज गलत बाटोतिर गइरहेको छ। setopati.com