नेपालमा पनि ६० किलोमिटरको लामो ‘नेपाली ग्रेटवाल’ बन्ने भएको छ । सिन्धुपाल्चोकको प्रमुख पर्यटकीय केन्द्र हेलम्बुलाई लक्षित गरी ‘ग्रेट ट्रेल’ निर्माणको सोचका साथ लामो पर्खालले घेर्न सुरु गरिएकोसंगै यसलाई पर्खाललाई ‘नेपाली ग्रेट वाल’ को संज्ञा दिएको हो ।
पर्खालको सुरुवाती एक सय मिटर निर्माण कार्य सम्पन्न भएको छ । चीनको ग्रेटवाल हेर्न पुग्दा त्यहाँ पर्यटकको लहर देखेपछि ‘हेलम्बु ग्रेटवाल’ को सोच आएको गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए । ६० किलोमिटर लामो हुने पदमार्गले समुन्द्री सतहबाट २५ सय उचाईमा पर्ने सेर्माथाङलाई पनि छुनेछ ।
हेलम्बुु गाउँपालिका १ बुद्घपार्कबाट सुरु हुने पदमार्ग ज्योमथाङ, आमायाङ्ग्री, ढुक्पु, भेमथाङ, पासाङसिरी, गुफुपोखरी, जलंसा, दुवाङगुफा, सेमीसिदाङ, भेयस्री, सोली, ठाडेपाटी, पाकेडाँडा हुँदै घोप्टेघ्याङ पुगेर सकिने छ ।
पदमार्गमा स्थानीय स्लेट ढुंगा छापिने छ । छापिएको ढुंगामा स्थानीय संस्कृती झल्काउने शिलालेख खोपिने र हरेक खण्डमा दशवटा खुड्किला हुनेछन् । पर्यटक बिसौनी र रातको समयमा सोलार बत्ति ट्रेलको आकर्षणको रुपमा रहने गाउँपालिकाले जनाएको छ ।
ह्योल्मो जातिको लोपोन्मुख संस्कृति नेपालको हेलम्बुमा मात्रै देख्न पाइने र यहाँको गुम्बाहरु पर्यटकहरुको पहिलो आकर्षणको केन्द्र रहेकाले ट्रेलको उच्च महत्व रहेको अध्यक्ष शेर्पाले बताए ।
सिन्धुपाल्चोकको प्रमुख पर्यटकीय केन्द्र हेलम्बुलाई ग्रेट ट्रेलको पर्खालले घेर्ने छ । गोसाईकुण्ड र लाङटाङ पर्यटकीय पदयात्राको सिन्धुपाल्चोक प्रवेशद्वार पनि ग्रेट ट्रेलमा पर्नेछ । रसुवा, सिन्धुपाल्चोक र दोलखा जिल्लाका हिमशृखंला ग्रेट ट्रेलबाट हेर्न सकिने छ ।






