राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यामिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको परीक्षाफल बुधबार प्रकाशित नहुने स्पष्ट पारेको छ।
केही सञ्चारमाध्यममा बुधबार परीक्षाफल प्रकाशित हुने भनि आएका समाचारमा सत्यता नभएको बोर्डका सूचना अधिकारी नारायण पोखरेलले जानकारी गराए। नतिजा प्रकाशनका लागि बोर्डको अन्तिम तयारी पुगिनसकेको उनको भनाइ छ। यसैसाता भित्र नतिजा प्रकाशित गरिने उनले जानकारी गराए।
गत वर्ष असार ९ गते नतिजा प्रकाशित भएकामा यस वर्ष भने प्रदेश २ मा परीक्षा स्थगित गरी पुनः परीक्षा सञ्चालन गर्नुपरेको र कर्मचारी समायोजनका कारण कर्मचारीको अभाव भएकाले नतिजा प्रकाशनमा केही दिन ढिलागरी नतिजा प्रकाशन गर्न लागिएको बोर्डले जनाएको छ।
पोखरेलका अनुसार देशभरका उत्तरपुस्तिका परीक्षण सम्पन्न गरेर नम्बर इन्ट्रीको काम पनि अन्तिम चरणमा छ । मुलुक सङ्घीयतामा गएपछि पहिलोपटक एसइई परीक्षा व्यवस्थापन, सञ्चालन, अनुगमन, उत्तरपुस्तिका खरिदलगायतका सम्पूर्ण काम प्रदेश सरकारले गरेको थियो।






