अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन परिवारसहित ८६ जनालाई बयानका लागि बोलाएको छ ।
बुधवार सार्वजनिक सूचना जारी गर्दै ललितानिवासको जग्गा अनियमिततामा मुछिएका कारण छानविनका क्रममा उनीहरुलाई बोलाएको हो । आयोगले उनीहरुलाई ७ दिनभित्र उपस्थित हुन सूचना निकालेको छ ।
यसअघि नै अख्तियारले शोभाकान्त ढकाल र रामकुमार सुवेदीको घरमा पूर्जी टाँस गरिसकेको छ । अहिले भने शोभाकान्तको छोरी लक्ष्मी ढकालको नाममा सूचना निकालेको हो । उनी हाल अमेरिका छन् ।
सूचनामा उल्लेखित नाममा कल्याण गुरुङको पनि नाम छ । उनी भाटभटेनीका सञ्चालक मीनबहादुरको छोरा हुन् । रामकुमारको श्रीमती माधवी सुवेदीको नाममा पनि सूचना छ भने शोभाकान्तको पत्नी उमा ढकालको नाममा पनि सूचनामा छ । बोलाइएका अधिकांश ललितानिवासमा आफू मोही भनेर दाबी गर्ने व्यक्तिहरु रहेको स्रोतले जानकारी दिएको छ ।








