कांग्रेसको जागरण अभियानमा खटिएका प्रतिनिधिको प्रतिवेदन सानेपामा, छलफल कहिले ?


 नेपाली कांग्रेसले ‘हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ को प्रथम चरणमा खटाएका ७७ वटै जिल्लाका केन्द्रीय प्रतिनिधिसँग बुधबार छलफल एवं अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।  

कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालयमा जागरण अभियानको प्रथम चरणका सबै केन्द्रीय प्रतिनिधिसँग  बुधबार अन्तरक्रिया कार्यक्रम गर्ने जनाएको छ ।

कार्यक्रममा अभियानमा खटिएका केन्द्रीय प्रतिनिधिहरुले आफूले तयार गरेको प्रतिवेदन र अनुभवका बारेमा केन्द्रीय नेतृत्वसँग छलफल गर्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

अभियानको एक महीनामा सबै जिल्ला, क्षेत्र, गाउँ–नगर र वडास्तरमा दुई हजारभन्दा बढी बैठक, भेला, आन्तरिक सभाहरु, खुला सभा, र्‍याली, विचार–बहसलगायत कार्यक्रम सम्पन्न भएका पार्टी कार्यालयले जनाएको छ । जागरण अभियानको प्रथम चरण गत वैशाख २५ मा प्रारम्भ भई जेठ २५ गते सम्पन्न भएको थियो ।

अभियानको दोस्रो चरण आगामी भदौ २४ गते (बिपी जयन्तीका दिन) प्रारम्भ भई असोज ७ गतेसम्म चल्ने र तेस्रो चरण आगामी पुस ७ गते प्रारम्भ भई पुस १६ गते मेलमिलाप दिवसमा समापन गरिनेछ ।

कांग्रेसले जागरण अभियानको प्रथम चरणको समीक्षालगायत अन्य विषयमा छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक यही असार २२ गते बोलाएको छ ।


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं