ताजा समाचार

असार १० गते २०७६

महानगर मुख्यालय बनाउन ६ करोड

पोखरा महानगरले पूर्वाधारलाई प्राथमिकता दिएर बजेट ल्याएको छ । पोखरा महानगरले आव २०७६÷७७ का नीति तथा कार्यक्रम कार्यान्वयन गर्न ७ अर्ब ५४ लाखको बजेट सार्वजनिक गरेको छ ।

महानगरभित्र सञ्चालित आयोजनाको गुणस्तर कायम राख्न गुणस्तर मापन प्रयोगशाला बनाइने भएको छ । प्रयोगशाला यसै वर्षदेखि सञ्चालन हुने भएको छ । मुख्य सहरी सडक अस्फाल्ट कंक्रिटलाई निरन्तरता दिन ८ करोड ४९ लाख २० हजार विनियोजन भएको छ । पोखरा वडा न १७ को आरटिओं सडक स्तरोन्नतिका लागि ९ करोड ४१ लाख ५९ हजार छुट्याइएको छ ।

यस्तै, अहिले चौडा पारिँदै गरेको घारीपाटन दोबिल्ल ाहँुदै पुँडीटार सडकलाई नमुना सडकका रुपमा विकास गर्ने महानगरको योजना छ । यो आवमा निर्माण सुरु भएका वडा नम्बर २, ११, १२, ३०, ३२, १९ र २२ का कार्यालय भवन निर्माण सकेर थप ९ वडा कार्यालयका लागि भवन बनाउने महानगरको योजना छ । यसका लागि २४ करोड ९७ लाख ५३ हजार रुपैंयाँ विनियोजन भएको छ ।

आगामी आवमा जग्गा व्यवस्थापन गरी महानगरपालिका भवन निर्माण गर्ने महानगरको योजना छ । यसका लागि ६ करोड रुपैंयाँ विनियोजन गरिएको छ । चालु आवमा काम सुरु गरिएका भोटीखोला मोटरेबल पुल,घोरकुना मोटरेबल पुल, फिर्के खोला मोटरेबल पुल निर्माणलाई निरन्तरता दिँदै अन्य चार स्थानमा पक्की पुल निर्माण गरिने भएको छ । यसका लागि २३ करोड २८ लाख ३५ हजार रुपंैयाँ छुट्याइएको छ ।

सिर्जनाचोकमा सुरु गरिएको आकाशे पुल आगामी आवभित्र सक्ने महानगरको योजना छ । महानगरका व्यस्त चोकमा ओभरहेड र सबवे संरचना निर्माण, अध्ययन डिजाइन यसै वर्ष सुरु गरिने बजेट तथा कार्यक्रममा उल्लेख छ । सडक पार्किङलाई निरुत्साहित गर्दै सार्वजनिक निजी साझेदारीमा पार्किङस्थल निर्माण अघि बढाइने भएको छ ।

अटो भिलेज निर्माणका लागि अध्ययन तथा सर्वेक्षण पनि यही आवबाट सुरु गरिने भएको छ । सार्वजनिक यातायातमा वैज्ञानिक भाडादर कायम गर्न ई—टिकेटिङ लागू गरिने भएको छ । महानगरले महेन्द्रपुल, पृथ्वीचोक, सभागृहचोक लगायतका स्थानमा ट्राफिक लाइट राख्ने भएको छ । यसको सर्भे डिजाइन सम्पन्न भइसकेकाले निर्माण गर्न ३ करोड बजेट छ ।

लेक टु लेक केभ टु केभ जोड्ने सडकको प्राविधिक सर्वेक्षण र पोखरा सभागृह मर्मत सम्भारका पनि यही आवमा गरिने भएको छ । अन्तर्राष्ट्रिय स्तरको सभाहल निर्माणका समेतका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन महानगरले ३ करोड बजेट व्यवस्था गरेको छ । सडकका बीचमा रहेका बिजुलीका पोल स्थानान्तरण गर्दै स्मार्ट महानगर बनाउने योजना महानगरको छ ।

महानगर डिजिटल सिटी गुरुयोजना निर्माण गर्नका लागि ४ करोड रुपैंया विनियोजन भएको छ भने पोखराको भूउपयोग नीति अध्यावधिक गरी नक्साकन गर्न ४ करोड रुपैंया विनियोजन भएको छ । महानगर क्षेत्रका सडकमा रहेका विद्युत, टेलिफोन तथा इन्टरनेट तार अन्डर ग्राउन्डका लागि विशेष योजना सञ्चालन गर्ने महानगरको तयारी छ ।

पोखरा महानगरपालिकाको उपप्रमुख एवं बजेट तथा योजना तर्जुमा समिति संयोजक मञ्जुदेवी गुरुङले मंगलबार भएको पाँचौ नगरसभामा बजेट पेश गरेकी हुन् ।