असार १० गते २०७६

ताजा समाचार

असार १० गते २०७६

पोखरा महानगरले सोध्यो स्पष्टिकरण, ‘ताल मिचेर घर किन बनाएको ?’



पोखरा महानगरपालिकाले बेगनास ताल किनारमा मापदण्ड विपरीत नयाँ घर बनाएका स्थानीयसंग स्पष्टिकरण सोधेको छ ।

महानगरले उनीहरूलाई पत्रमार्फत स्पष्टिकरण सोधेको हो । साथै ताल किनारमा घर बनाउन तत्काल रोक्न पनि महानगरपालिकाले निर्देशन दिएको छ । ताल किनारमा घर बनाइसकेकालाई भने घर बनाउनुको कारण कागजातसहित विवरण पेश गर्न निर्देशन दिएको छ ।

महानगरपालिकाको मापदण्डमा बेगनास र रुपाताल किनारको सिमादेखि १ सय मिटर भित्र कुनै पनि भौतिक संरचना बनाउन नपाइने उल्लेख छ । यसमा फेवातालको मापदण्ड भने केही फरक छ । फेवातालको मापदण्ड ताल किनारबाट ६५ मिटर छ । अन्य साना तालको मापदण्ड ताल किनारबाट ५० मिटर रहने उल्लेख छ ।

पोखरा महानगरका प्रमुख मानबहादुर जिसीका अनुसार बेगनास ताल किनारको मापदण्डभित्र पछिल्लो समयमा घर बन्नेक्रम तीब्र भएकाले त्यसलाई रोक्न पत्रचार गरिएको हो । महानगरपालिकाको मापदण्ड अनुसार काम गर्न मेयर जिसीले आग्रह गरे ।

बेगनास ताल किनारमा पछिल्लो समयमा तालको मापदण्डभित्र २७ घर निर्माण भएको महानगरपालिकाले जनाएको छ । महानगरपालिकाका अनुसार बेगनासताल किनारको मापदण्ड भित्र व्यक्तिको लालपूर्जाको जग्गामा मात्र नभई तालको डुवानमा पर्ने जग्गाको मुआब्जा जग्गाधनीले लिइसकेका छन् ।