ताजा समाचार

असार १० गते २०७६

ग्रामीण क्षेत्रका वडाका कर्मचारीलाई भत्ता, कर्मचारी र जनप्रतिनिधिको बिमा

पोखरा महानगरले स्थानीय सेवाको व्यवस्थापनका लागि विभिन्न योजना अघि सारेको छ । मंगलबार पेश भएको बजेटमा पोखरा महानगरले पहाडी क्षेत्र तथा महानगर केन्द्रबाट टाढा रहेका वडा कार्यालयमा कार्यरत कर्मचारीलाई भत्ता दिने उल्लेख छ ।

वडा न १६,१८,१९,२०,२१,२२,२३,२४,२८,३२ र ३३ मा कार्यरत कर्मचारीलाइ विशेष प्रोत्साहन भत्ता जनही १५ सय रुपैंयाँ थप प्रदान गरिनेछ । यो सुविधा पाउन न्युनतम ७० प्रतिशत कार्यालयमा हाजिर भएको हुनुपर्ने छ । यसै आर्थिक वर्षबाट कर्मचारी र जनप्रतिनिधिको बिमा गरिने भएको छ ।

१ वर्ष निरन्तर सेवा गरेका कर्मचारीले पाउने प्रत्येक महिनाको तलब स्केलबाट १० प्रतिशत कोष कट्टी गरी सो रकममा कार्यालयबाट सत प्रतिशत थप गरी सञ्चयकोष बनाइने भएको छ । कर्मचारीलाई वार्षिक एक पटक बढीमा ७ दिन कार्यालयले तोकेको समयमा नियमानुसार भ्रमण भत्ता दिइने भएको छ । आन्तरिक पर्यटनलाई प्रोत्साहन गर्न कार्यक्रम ल्याइएको हो ।

पाँच वर्ष भन्दा बढी समय काम गरेका कर्मचारीका लागि सामाजिक सुरक्षाकोषको व्यवस्था भएको छ । जसका लागि महानगरपालिकामा पाँच वर्ष भन्दा लामो समयदेखि अस्थायी÷करारमा कार्यरत कर्मचारीको मासिक तलबबाट ५ प्रतिशत कट्टा गरी महानगरले त्यसमा सतप्रतिशत थप गर्ने भएको छ ।