ताजा समाचार

असार १० गते २०७६

महानगरमै सीप विकास तालिम केन्द्र

पोखरा महानगरले सीप सिकाएर उद्यमशील बनाउन महानगरीय सीप विकास केन्द्र स्थापना गर्ने भएको छ । आगामी आर्थिक वर्षमा केन्द्र स्थापना तथा सञ्चालन गर्न २ करोड विनियोजन भएको छ ।

सीप विकासबाट उत्पादन गरिएका सामानलाई बजारीकरण गर्नका लागि उपहार केन्द्रसमेत स्थापना गरिने भएको छ । ‘समृद्घि र विकास निर्माणको आधार, सम्पूर्ण क्षेत्रमा महिलालाई समान व्यवहार’ को नारालाई आत्मसाथ गर्दै महानगर क्षेत्रभित्र महिला सशक्तीकरण र उद्यमशीलता विकासका लागि उपप्रमुखसँग महिला कार्यक्रमलाई निरन्तरता दिनका लागि २ करोड बजेट छ । यस्तै, महिलाको उद्यमशीलता विकास तथा रोजगारी प्रवद्र्घनका लागि ५० महिला उद्यमी ५ सय महिला रोजगार कार्यक्रमलाई निरन्तरता दिइने भएको छ । यसका लागि १ करोड विनियोजन भएको छ ।

महानगरले एकल महिला, ज्येष्ठ नागरिक, फरक क्षमता भएका व्यक्ति, अनाथ बालबालिका, सिमान्तकृत र लोपोन्मुख समुदायका लागि यातायात, स्वास्थ्य र शिक्षा क्षेत्रमा सहुलियत प्रदान गर्ने भएको छ । हरेक वर्ष विश्व ज्येष्ठ नागरिक दिवस (अक्टुबर १) मा महानगरका सबैभन्दा ज्येष्ठ महिला र पुरूषलाई महानगर माता र महानगर पिताको सम्मान गर्ने भएको छ ।