पोखरा महानगरमै खेलकुद विकास समिति, व्यायम सामग्री किन्न ५० लाख

पोखरा महानगरले १६ ठाउँमा व्यायम सामग्री किन्न ५० लाख बजेट छुट्याएको छ । ‘स्वास्थ्यका लागि व्यायाम’ मा जोड दिँदै टोल तथा पार्कहरुमा खुल्ला व्यायामशाला निर्माणलाई महागरले निरन्तरता दिएको हो ।

महानगर क्षेत्रभित्र रहेका युवा क्लब र सामाजिक संघसंस्थालाई सूचिकृत गरी युवालाई व्यवसाय तथा उद्यममा प्रेरित गर्दै वेरोजगारी समस्या समाधान गर्न युवा उद्यम कार्यक्रम सञ्चालन गरिने भएको छ । मंगलबार बजेट पेश गर्दै उपमेयर मञ्जुदेवी गुरुङले महानगर युवा परिषद् तथा खेलकुद विकास समिति गठन र सञ्चालन गर्न ५० लाख विनियोजन भएको बताइन् ।

महानगरले गोस्तेघाट, भण्डारढिक, आर्बा र विजयपुरमा आधुनिक खेल मैदान निर्माण गर्नुका साथै वडा नम्बर २० मा हाइअल्टिच्युट खेल मैदान निर्माण गर्न ३ करोड विनियोजन गरेको छ । यसअघि नै महानगरले अघि सारेको एक वडा एक खेल मैदान निर्माणलाई निरन्तरता दिन १ करोड बजेट छ ।