आवधिक योजना बनाउँदै अन्नपूर्ण गापा

कास्कीको अन्नपूर्ण गाउँपालिकाले आर्थिक वर्ष ०७६/७७ का लागि ५८ करोड़ १० लाखको बजेट सर्वजनिक गरेको छ । १२ करोड १३ लाख रुपैयाँ विषयगत शाखा, १ करोड ७७ लाख वडागत पुँजीगत अनुदान र समपूरक कोषमा ४ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

गाउँपालिकाले दिगो विकासका लागि आवधिक योजना बनाउने भएको छ । यसका लागि यसपालिको बजेटमा २५ लाख विनियोजन भएको छ । सोमबार भएको छैटौं गाउँसभामा अध्यक्ष युवराज कुँवरले पेश गरेको बजेटमा चाडपर्व बनाउन र मेला, महोत्सवका लागि पनि उल्लेख्य बजेट विनियोजन गरेको दखिन्छ ।

अनुभव आदानप्रदान गर्न ५ लाख, तीजको कार्यक्रम गर्न २ लाख, होली मनाउन १ लाख, मौलाकोट पूजाका लागि २ लाख, हनी हन्टर महोत्सवका लागि २ लाख बजेट विनियोजन गरेको छ ।

अन्नपूर्ण गाउँपालिकाले चर्चित भोटे कुकुरको संरक्षण गर्न २ लाख छुट्याएको छ । यसका लागि संरक्षण क्याम्प नै चलाउने गाउँपालिकाको योजना छ । यसअघि नै कोदोका परिकारलाई प्रवद्र्धन गर्दै आएको गाउँपालिकाले यसपालि कोदो महोत्सव गर्ने भएको छ । महोत्सव गर्न ५ लाख बजेट विनियोजन भएको छ

असार ४ गते प्रस्तुत भएको नीति तथा कार्यक्रममा आधारित भएर अध्यक्ष कुँवरले सोमबार बजेट पेश गरेका हुन् । उनले संघीय सरकारले १० र प्रदेश सरकारले ८ ग्रामीण सडक गाउँपालिकामा बनाइरहेको जानकारी दिए ।