ताजा समाचार

असार ९ गते २०७६

बालविवाह रोक्न ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम

बालविवाह न्यूनीकरणका लागि टीकापुर नगरपालिकाले ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम ल्याउने भएको छ ।

नगरपालिकाले आउँदो साउन १ गतेपछि नगरपालिकाभित्र जन्मिएका प्रत्येक छोरीको बैंक खाता खोली बार्षिक एक हजार रकम उपलब्ध गराइने उल्लेख हो ।

तर उक्त रकम २० वर्षअघि विवाह गर्ने छोरीलाई उपलब्ध नगराइने व्यवस्था नीति तथा कार्यक्रममा गरिएको छ । छाउपडीमुक्त नगरपालिका घोषणाका लागि महिला हिंसा, छुवाछुत, अन्धविश्वास, कुप्रथालगायत गलत प्रचलन तथा प्रवृति अन्त्यका लागि पनि विशेष कार्यक्रम सञ्चालन गरिने गरी नीति तथा कार्यक्रम ल्याइएको नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले जानकारी दिए ।

सुत्केरी अवस्थामा पोषणयुक्त खानाको महत्व बुझाउन र पोषणयुक्त खाद्य सामग्री हस्तान्तरण गर्न नगरपालिकाले ‘आमासँग उपमेयर’ कार्यक्रमलाई पनि नीति तथा कार्यक्रममा प्राथमिकताका साथ समावेश गरिएको छ । त्यस्तै ‘गर्भवती महिलासँग सञ्चार’ कार्यक्रमअन्र्तगत महिला स्वास्थ्य स्वयं सेविकालाई मोबाइलमार्फत गर्भवती महिला र शिशुको सुरक्षासँग सम्बन्धित सूचना आदानप्रदानका लागि मोबाइल उपलब्ध गराइनेछ ।