ताजा समाचार

असार ९ गते २०७६

सरकारको तिनै तहको समन्वयले मात्र विकास सम्भव छ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय, प्रदेश र सङ्घ सरकारको समन्वयले मात्र विकास सम्भव हुने दाबी गरेका छन् ।

आज माडी नगरपालिकाको तेस्रो नगरसभामा उनले तीनै तहको समन्वयले विकास हुने भएकोले बल्ल जनताले विकासको अनुभूति गर्ने बताएका हुन् ।

कानून निर्माणको क्रममा रहेका कारण तीन तहको समन्वयमा केही समस्या देखिए पनि पछि समस्या समाधान हुने उनले बताए । अहिलेको परिवर्तन गुणात्मक भएको अधयक्ष दाहालको भनाइ थियो ।

माडीका समस्या र सम्भावना विशिष्ट प्रकृतिका रहेको भन्दै उनले समस्या समाधान गर्दैअघि बढ्ने तर्फ तीनै तह लाग्नुपर्नेमा जोड दिए । अध्यक्ष दाहालले माडीका जनताका लागि निकुञ्ज समस्याका रुपमा रहेको बताए ।

माडी नगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ का लागि रु ९२ करोड ७० लाख ४८ हजारको बजेट पेश गरेको छ । जसमा चालुतर्फ रु १९ करोड ५० लाख र पूँजीगततर्फ रु ७३ करोड २० लाख ४८ हजार बजेट विनियोजन गरिएको नगर उपप्रमुख ताराकुमारी काजीमहतोले जानकारी दिए ।