गाउँमा ४२ टन मह उत्पादन भएपछि कृषक मख्खै

जनजाति बाहुल्यता रहेको पूर्वी चितवनको राप्ती नगरपालिका–११ थाकलटारस्थित ग्रामीण बस्तीमा यो वर्ष ४२ टन मह उत्पादन भएको छ ।

उक्त बस्तीका ५७ घरपरिवारले गदै आएको मौरीपालन व्यावसायिकबाट यसवर्ष ४२ टन महा उत्पादन भएको हो ।

थाकलटार मौरीपालन, तरकारी र च्याउ उत्पादन बहुउद्देश्यीय कृषक समूहका सचिव धर्मराज लामाका अनुसार एक परिवारले २० देखि तीन सय घारसम्म मौरी पालेका छन् । त्यहाँ चिउरीको मह उत्पादन हुने भएकाले डाबर नेपाल, पतञ्जलि र स्थानीय व्यवसायीले त्यहाँको मह उठाउने गर्दछन् ।

मौरी पालेसँगै धेरैको जीवनस्तर उकासिएको संस्थाका अध्यक्ष खड्गबहादुर मोक्तानले जानकारी बताए । उनका अनुसार ५० घार मौरी पाल्नेले वर्षमा रु दुईदेखि तीन लाख आम्दानी गर्ने गरेका छन् । कृषकलाई मौरी पाल्न विभिन्न संस्थाले सहयोगसमेत गर्दै आएका छन् । कृषकले यस वर्ष रु २५० प्रति किलोमा मह बिक्री गरेको जनाएका छन् ।

हालै मात्र प्रधानमन्त्री कृषि आधुनिकीकरण मौरी जोन, हरियो वन कार्यक्रम र डाबर नेपालको सहयोगमा गाउँमा मह सङ्कलन केन्द्रसमेत स्थापना गरिएको छ । किसानको मह सङ्कलन गरेर सोही ठाउँमा राखिने अध्यक्ष मोक्तानले जानकारी बताए । विसं २०६० पछि स्थानीयवासीले त्यहाँ मौरी पाल्न शुरु गरेका हुन् ।