ताजा समाचार

असार ९ गते २०७६

दमौलीका कुन कुन होटलमा टाँसियो खाद्य स्वच्छता स्टीकर ?

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँले दमौलीमा सञ्चालित छ वटा होटल तथा रेष्टुरेन्टमा खाद्य स्वच्छता स्टीकर टाँस गरेको छ ।

होटल रेष्टुरेन्ट स्तरीकरण गर्नेसम्बन्धी निर्देशिका २०७४ बमोजिम कार्यालयले होटल तथा रेष्टुरेन्टको वर्गीकरणका लागि ती होटल तथा रेष्टुरेण्टमा खाद्य स्वच्छता स्टीकर टाँस गरेको हो ।

दमौलीमा सञ्चालित प्रेरणा नेवा खाजा घर र लाङ्घाली होटलमा उत्तम ‘ख’, ट्रान्जिट रेष्टुरेण्ट, मटन तास घर र हाइफाइभमा सन्तोषजनक ‘ग’र श्रेष्ठ खाजा घरमा सामान्य ‘घ’ स्टीकर टाँस गरिएको डिभिजन प्रमुख शिवजी बरालले जानकारी दिए ।

बरालका अनुसार होटल तथा रेष्टुरेन्टको बाहिरी परिधिको सरसफाइको अवस्था, भुइँ, भित्ता र सिलिङको स्थिति, खाद्यवस्तुको सम्पर्कमा आउने स्थलको अवस्था, सरसफाइ गर्न प्रयोगमा ल्याइने रसायन तथा विषादी प्रयोग र भण्डारण तथा ढल निकासको व्यवस्थित प्रणालीलाई मूल्याङ्कनको आधार बनाएको छ ।

होटल तथा रेष्टुरेण्टमा खाद्य स्वच्छता स्टीकर टास्ँदै प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्न नहुने र सरसफाईमा विशेष ध्यान दिनुपर्ने बताए ।