ताजा समाचार

असार ९ गते २०७६

त्रिविले ९ नम्बर ल्याउने विद्यार्थीलाई ६९ दिएर स्वर्णपदक दिलाएको खुलासा

त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले ९ नम्बर ल्याएका विद्यार्थीलाई ६० नम्बर थपेर ‘गोल्ड मेडल’ दिलाएको खुलासा भएको छ ।

स्नातकोत्तर तहको एक विषयमा ९ नम्बर ल्याएका सुरेन्द्र कोइरालालाई पनिका कर्मचारीले ६९ नम्बर दिएर ‘सर्वोत्कृष्ट’ बनाएको खुलासा भएको हो । कोइराला अधिवक्ता हुन् ।

पाटन क्याम्पसमा मानविकी संकायअन्तर्गत अर्थशास्त्रका विद्यार्थी कोइरालालाई ‘गोल्ड मेडल’ दिलाउन कम्तीमा ३ वटा विषयमा नम्बर थप गरेको पाइएको छ । उत्तरपुस्तिकामा दिइएको नम्बर र क्याम्पसमार्फत उपलब्ध गराइने मार्क्सिटमा नम्बर फरक पारिएको पनिकाका एक कर्मचारीले बताए ।

उनका अनुसार पछि पनिका बल्खुले ट्रान्सक्रिप्टमा पनि नम्बर बढाएर दिएपछि उनले गोल्ड मेडल पाएका रहेछन् । स्रोतअनुसार एउटा विषयको उत्तरपुस्तिकामा ९ नम्बर रहेकामा पनिका गोप्य शाखाका कर्मचारीले ९ को अगाडि ६ थपेर मार्क्सिट र ट्रान्सक्रिप्ट दिएका छन् । अन्य विषयमा पनि जथाभावी नम्बर थपेर ट्रान्सक्रिप्ट दिइएको छ । कोइरालालाई २०७२/७३ को वार्षिक परीक्षाको नतिजामा नम्बर थपेर सर्वोत्कृष्ट बनाइएको हो ।