ताजा समाचार

असार ९ गते २०७६

पहाडकी रानी बन्दीपुरमा अव पर्यटकलाई पार्किङको समस्या छैन

पहाडकी रानी उपनामले प्रख्याती कमाएको तनहुँको बन्दीपुरमा पर्यटकको बढ्दो आवागमनलाई मध्यनजर गदै बसपार्क निर्माण गरिएको छ ।

बन्दीपुर गाउँपालिकाले सार्वजनिक जग्गाको अभाव भएकाले मासिक रु तीन हजार बुझाउने गरी १५ वर्षको लागि पाँच रोपनी जग्गा भाडामा लिएर बसपार्क निर्माण गरेको हो ।

गाउँपालिकाले जग्गा भाडामा लिएर भए पनि बसपार्क निर्माण कार्य गरिदिए पछि बन्दीपुरका पर्यटन व्यवसायी खुशी भएको गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले जानकारी दिए । उनका अनुसार बन्दीपुरमा धेरै सवारीसाधन आउने हुँदा बसपार्कको समस्या भयो भनेर ट्राभल एजेन्सीबाट गुनासो आउने गरेकोले बसपार्क निर्माण गरिएको हो ।

सवारीसाधनको चाप बढी र साँघुरो पनि भएकाले बसपार्क निर्माण गर्नुपरेको गाउँपालिकाले जनाएको छ । बसपार्क निर्माणको गाउँपालिकाले रु २५ लाख बजेट निकास गरेको बन्दीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय शुकदेव लम्सालले जानकारी दिए ।

मोटरसाइकल जीपजस्ता साना खालको सवारीसाधन पार्किङको लागि टुँडिखेल नजिकैको स्थानमा अध्ययन भइरहेको पनि उनले बताए । नगरपालिकाले दीर्घकालीनरुपमा पार्किङको समस्या सामाधान गर्न अर्को स्थान पनि अध्ययन गरिएको छ ।