ताजा समाचार

असार ८ गते २०७६

आगामी वर्ष पनि उपप्रमुखसँग महिला कार्यक्रम

पोखरा महानगरले ‘समृद्घि र विकास निर्माणको आधार, सम्पूर्ण क्षेत्रमा महिलालाई समान व्यवहार’को नारा आत्मसाथ गर्दै महानगर क्षेत्रभित्र महिला सशक्तीकरण र उद्यमशीलता विकासका लागि आगामी वर्ष पनि उपप्रमुखसँग महिला कार्यक्रमलाई निरन्तरता दिइने भएको छ । महानगरले महिला उद्यमशीलता विकास तथा रोजगारी प्रवद्र्घनका लागि ५० महिला ५ सय रोजगार कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

आइतबार सार्वजनिक भएको नीति तथा कार्यक्रममा क्षमता तथा सीप विकास अभिवृद्घि गर्न महानगरीय सिप विकास केन्द्र स्थापना गर्ने उल्लेख छ । यसको सञ्चालन प्रक्रिया आगामी वर्ष थालनी मेयर मानबहादुर जिसीले बताए ।

केन्द्रबाट उत्पादन गरिएका सामानलाई बजारीकरण गर्नका लागि उपहार केन्द्र स्थापना गर्ने महानगरको योजना छ ।

यस्तै, एकल महिला, ज्येष्ठ नागरिक, फरक क्षमता भएका व्यक्ति, टुहुरा, सिमान्तकृत र लोपोन्मुख समुदायका लागि यातायात, स्वास्थ्य र शिक्षा क्षेत्रमा सहुलियत प्रदान गर्न पहल गर्ने महानगरको योजना छ । महानगरले हरेक वर्ष विश्व ज्येष्ठ नागरिक दिवस (अक्टुबर १) मा महानगरका सबैभन्दा ज्येष्ठ महिला र पुरूषलाई महानगर माता र महानगर पिता को सम्मान प्रदान गर्ने नीति लिएको छ ।