पोखरा महानगरपालिकाले साहित्यिक, सांस्कृतिक उत्थानका लागि महानगरमै प्रज्ञा प्रतिष्ठान स्थापना गर्ने भएको छ । महानगरले विद्यालयमा स्थानीय भाषामा कक्षा सञ्चालनको लागि आवश्यक पाठ्यक्रम तर्जुमा गरी सम्बन्धित भाषाभाषीको बाहुल्यता रहेका क्षेत्रका विद्यालयमा लागू गर्न आगामी वर्षबाटै सुरु गर्ने भएको छ ।
आइतबार पाँचौं नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर मानबहादुर जिसीले होमस्टेहरुमा स्थानीय नृत्य तथा मौलिक भेषभुषा तथा संस्कृति झल्कने कार्यक्रम सञ्चालनमा जोड दिइने बताए । महानगरले सांस्कृतिक ग्राम निर्माण गर्न पहल गर्ने योजनासमेत बनाएको छ ।
पोखरा महानगरले शिक्षा, स्वास्थ्य, भाषा, संस्कृति, कला साहित्य आदिको विकासमा योगदान पु¥याउने व्यक्तित्वलाई महानगर स्थापना दिवसमा नवरत्न सम्मानद्घारा सम्मानित गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
यस्तै, पोखरा महानगरपालिका वडा नम्बर २७ अर्चेलस्थित कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थललाई साहित्य अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने महानगरको योजना छ । यसका लागि आगामी आर्थिक वर्षमा आवश्यक तयारी गरिने जनाइएको छ ।




