समता अस्पतालकी सरसफाइ कर्मचारीको शंकास्पद मृत्यु भएपछि उत्तम सञ्जेललाई पक्राउ गर्न माग गर्दै सर्वसाधारणले प्रदर्शन गरेका छन् ।
आइतबार दिउँसो महानगरिय प्रहरी वृत गौशालाको अगाडि सञ्जेललाई पक्राउ गर्न माग गर्दै एक समूहले प्रदर्शन गरेको हो ।
समता अस्पतालमा कार्यरत सरसफाइ कर्मचारी विमला तामाङले असार ३ गते आत्महत्या गरेपछि संचालक कला सञ्जेलसहित दुई कर्मचारी पक्राउ परेका थिए ।
प्रहरीले सञ्जेलसहित तीनजनालाई गौशाला वृतमा राखेर अनुसन्धान गरिरहेको छ। रामेछापस्थित दोरम्बाकी तामाङको शव झुण्डिएको अवस्थामा असार ३ गते बिहान फेला परेको थियो ।
२७ वर्षीया तामाङ दुई महिनादेखि अस्पतालमा सरसफाइ सहयोगीका रुपमा कार्यरत थिइन् । तामाङको गोजीमा अस्पतालकी संचालक सञ्जेलसहित दुई कर्मचारीको नाम लेखिएको कागज फेला परेपछि त्यसलाई आधार बनाएर प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।




