ताजा समाचार

असार ८ गते २०७६

आफ्नै अंगरक्षकद्धारा गोली हानि प्रधान सेनापतिको हत्या

इथियोपियाका प्रधान सेनापतिको गोली हानी हत्या भएको इथियोपियाका प्रधानमन्त्री अबिय अहमदले बताएका छन्।

टेलिभिजनमार्फत राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री अहमदले सेनापति सियर मेकोनेनको उनकै अंगरक्षकले गोली हानी हत्या गरेको जानकारी दिए।

सैन्य पोशाकमा उपस्थित भएर राष्ट्रका नाममा सम्बोधन गरेका प्रधानमन्त्री अहमदले अम्हारा राज्यमा भएको असफल सैनिक सत्ता विद्रोहलाई भने सरकारले बिफल बनाएको बताए।

उक्त गोलीकाण्डमा अम्हारा राज्यका अध्यक्ष अम्बाचे मेकोन्नेन र अरु केही उच्च अधिकारीहरुको पनि हत्या भएको छ।

अम्हाराका सुरक्षा प्रमुखको नेतृत्वमा सैन्य विद्रोह भएको प्रारम्भिक विवरणमा उल्लेख छ। सैनिक विद्रोह भएका कारण इथियोपियाको इन्टरनेट सेवा देशैभर बन्द गरिएको छ। घटनाको विस्तृत विवरण अझै प्राप्त भइसकेको छैन।