राप्रपाको महाधिवेशन २०७७ जेठमा गर्ने निर्णय

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीको केन्द्रीय महाधिवेशन २०७७ जेठ महिनामा गर्ने पनि निर्णय गरेको छ ।

राप्रपाको विस्तारित केन्द्रिय समितिको बैठकले सो निर्णय गरेको राप्रपाका अध्यक्ष कमल थापाले जानकारी दिएका छन् ।

राप्रपाको बैठकले राज्यको चौथो अंगलाई नियन्त्रण गर्ने दुष्प्रयास गरेको, मानवअधिकार आयोगलाई पंगु बनाउन खोजेको भन्दै सरकार सर्वसत्तावादतर्फ उन्मुख हुन खोजेको निष्कर्ष निकालेको अध्यक्ष थापाले जानकारी दिए ।     

राप्रपाले गुठी विधेयक पूर्ण रुपले खारेज गर्न माग गरेको छ । राप्रपाले उक्त विधेयक खारेज गरेर नयाँ विधेयक ल्याउनुपर्ने बताउदै गुठी विधेयक आपत्तिजनक भएकाले जनताको भावनाको सम्मान गर्दै पूर्ण रुपले खारेज गर्न माग गरेको छ ।

अध्यक्ष कमल थापाले नेपालको सनातन धर्म संस्कृति परम्परालाई नियन्त्रित र निषेधित गर्न खोजेको भन्दै यो स्वीकार्य नहुने बताए ।

उनले गुठी विधेयकको विरोधमा भएको सडक आन्दोलनमा आफूहरुको ऐक्यवद्धता रहेको पनि बताए । 

अषाढ ६ गतेदेखि ८ गतेसम्म चलेको राप्रपाको विस्तारित केन्द्रिय समितिको बैठकमा ७७ जिल्लाका अध्यक्षहरुको सहभागिता रहेको थियो ।