ताजा समाचार

असार ८ गते २०७६

सरकारले पाँच करोड बिरुवा रोप्दै

वन तथा वातावरण मन्त्रालयले आगामी आर्थिक वर्षदेखि पाँच करोड बिरुवा रोप्ने भएको छ । मन्त्रालयले सहरी क्षेत्रसँगै विभिन्न ठाउँका खाली चौर, पर्ती जग्गा, नदी खोला किनार र जंगल क्षेत्रमा बृक्षारोपण गर्ने भएको हो ।

मन्त्रालयले यसलाई बृक्षारोपण अभियानकै मनाउने भएको हो । आगामी आर्थिक वर्षलाई ‘वृक्षरोपण वर्ष’ का रूपमा मनाउने भएपछि बिरुवा रोप्ने अभियान देशैभर चलाइने भएको छ ।

मन्त्रालयका प्रवक्ता सिन्धुप्रसाद ढुंगानाका अनुसार सहरी क्षेत्रको प्रदूषणलाई मध्यनजर गर्दै समग्र हरियाली प्रवद्र्धन गर्न वृक्षरोपण वर्षका रूपमा अभियान चलाइने भएको हो । कुल पाँच करोड वृक्षरोपणमध्ये एक करोड ५० लाख फलफूल मात्र रोपिनेछ ।

सरोकारवाला निकायसँग छलफल गरी कुन ठाउँमा कस्ता बिरुवा रोप्न मिल्छ। त्यसैअनुसार वृक्षरोपण गरिने ढुंगानाले बताए ।वन मन्त्रालयले वृक्षरोपणका लागि १५ करोड बजेट विनियोजन गर्न प्रस्ताव गरेको छ ।