उपमहानगरपालिकाको सहयोगमा मगर भाषा र लिपिको पढाई शुरु

तुलसीपुर उपमहानगरपालिका–१ स्थित वीरेन्द्र मावि भ्युडहर सुनपुरमा मगर भाषाको कक्षा सञ्चालन भएको छ ।

तुलसीपुर उपमहानगरपालिकाको आर्थिक सहयोगमा मगर भाषा कक्षा पढाउन शुरु गरिएको हो ।

नेपाल मगर सङ्घ तुलसीपुर–१ ले संस्कृति संरक्षणका लागि मगर भाषा कक्षा पढाइ शुरु गरेको सचिव हिमाल थापाले बताए । उनका अनुसार पछिल्लो समय मगर संस्कृति, भाषा, लिपि, भेषभूषा हराउँदै गएको र यसलाई जोगाउन मगर भाषा कक्षा सञ्चालन गरिएको हो ।

उक्त कक्षाबाट विद्यालयमा अध्ययन गर्ने मगर समुदायका बालबालिका तथा अन्य समुदायका बालबालिकालाई पनि मगर भाषा तथा लिपिका बारेमा पढाइने छ । अहिले दाङमा प्राय बोल्ने गरिएको मगर ‘ठुट’ भाषा पढाउन लागिएको हो । कक्षा १ देखि १२ सम्मका विद्यार्थीलाई मगर तथा इच्छुक अन्य जातिका विद्यार्थीलाई एउटै कोठामा राखेर कक्षा सञ्चालन गरिने उनको भनाइ छ ।