दार्चुला नौगाड गाउँपालिका–२ सुण्डमुण्डुमा एक जनाले अत्यधिक मदिरा सेवन गरी आफ्नै घरमा आगजानी गर्दा श्रीमतीको जलेर मृत्यु भएको छ ।
अन्दाजी ३२ वर्षीय शेरसिह बडालले घरमा आगो लगाएपछि सामान निकाल्न भित्र गएकी उनका श्रीमती ३० वर्षीया विमला बडालको घरभित्रै जलेर मृत्यु भएको हो ।
शनिबार राति १२ बजे मदिरा सेवन गरी घर पुगेका बडालले घर परिवारसँग झगडा गरेका थिए । घरमा आएर झगडा गरेपछि पूरै परिवार घर छाडेर जङ्गल भागेको नौगाड गाउँपालिका–२ का वडा सदस्य जयभानसिंह ठगुन्नाले जानकारी दिए ।
घरमा कोही नभएको भन्दै बडालले आफू सुत्ने कोठामा गएर आगो सल्काएका थिए । बुवा बहादुर बडाल र आमा मङ्गलीदेवी बडाल आगो निभाउने मान्छे खोज्न गाउँ पसेका थिए । आगो स्थानीयवासीले रातभर लगाएर नियन्त्रणमा लिएका छन् । घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ ।





