ताजा समाचार

असार ८ गते २०७६

उपमेयरनै नगरपालिकाको कार्यालय तोडफोडमा उत्रिएपछि

महोत्तरीको औरही नगरपालिकाको कार्यालयमा गए राति उपप्रमुख रेणु झाको नेतृत्वमा गएको एक टोलीले तोडफोड गरेको छ ।

उक्त टोलीले नगरपालिकाको कार्यालयमा रहेको योजना शाखा तथा प्रशासन फाँटमा गरी दुई थान कम्प्युटर, दुई थान स्क्यान मेसिन, दुई थान प्रिन्टर, दुई थान मल्टिप्लग बोर्डमा तोडफोड गरेको हो ।

इलाका प्रहरी कार्यालय गौशालाले दिएको जानकारी अनुसार शनिबार साँझको समयमा कार्यालयमा कामकाज मनपर्दी रुपमा गर्दै आएको विरोधमा उपमेयर रेणु झाको नेतृत्वको टोलीले कार्यालयमा तोडफोड गरेको हो ।

अन्य दिन कार्यालयमा उपस्थित नहुने कर्मचारी शनिबार काम गरेको भन्दै सोधपुछ गर्न खोज्दा विवादले उग्ररुप लिएको प्रहरी निरीक्षक किशोर आचार्यले बताए । यता कामको चापले गर्दा शनिबार पनि काम गर्नुपर्ने बाध्यता रहेको नगरप्रमुख सुनिलकुमार यादवलाई उद्धृत गर्दै प्रहरी निरीक्षक आचार्यले बताए ।

असार मसान्तको समयमा पनि कार्यालयमा नियमितरूपमा कर्मचारी नआएपछि नगरपालिकामा योजनाअनुसारको कामकाज समयमै सम्पन्न हुन नसकेको स्थानीयवासीले प्रतिक्रिया दिएका छन् ।