ताजा समाचार

असार ८ गते २०७६

कालसर्प योग भनेको के हो ? यसले मानव जीवनमा कस्तो प्रभाव पार्छ ?

कालको अर्थ मृत्यु हो । शास्त्रमा सर्पलाई कालको पर्यायका रुपमा लिइएको पाइन्छ । काल स्वयं उत्पन्न भएको र यसलाई कसैले सृष्टि नगरेको पनि बताइन्छ र आदि, मध्य, अन्त्य र विनाशबाट रहित मानिन्छ । मनुष्यलगायत सम्पूर्ण चराचर जगतको मृत्यु कालका अधीनमा छ । काल सधैं गतिशील रहन्छ । यो कहिल्यै कसैका लागि पर्खँदैन ।

यसैले प्राणीलाई मृत्युका सम्मुख पुर्याउँछ । सर्पलाई पनि कालकै अङ्ग मानिएको छ । कालसर्प योग सम्भवतः समयको आन्तरिक गतिसँग जोडिएको त्यस्तो परिस्थिति हो, जसले व्यक्तिविशेषलाई अति नै कष्ट प्रदान गर्दछ अनि उसको जीवन स्वतः संघर्षसँग गाँसिन पुग्छ । हामीले व्यवहारमा मान्दै आएका नवग्रहहरू मध्ये आकाशमा हेर्दा औंल्याउन नसकिने २ वटा ग्रहः राहु र केतुलाई छायाँग्रह भन्ने गरेको पाइन्छ ।

काल सर्प योग कुण्डली

नक्षत्र विज्ञानका अनुसार राहुको नक्षत्र भरणी र केतुको नक्षत्र अश्लेषा मानिदैं आएको छ भने नक्षत्रपतिको गणना गर्दा भरणीको देवता यमराज वा काल र अश्लेषाको देवता सर्प मानिएको छ । त्यसैले नक्षत्रका अधिदेवताका नाममा राहुलाई काल र केतुलाई सर्पका रूपमा उल्लेख गरेर राहु र केतुको संयुक्त नामका रूपमा यदाकदा कालसर्प पनि भन्ने गरेको पाइन्छ ।

यस सन्दर्भमा एउटा श्लोक उदाहरणीय छ: सर्पयोगमा जन्म लिने व्यक्ति कुटिल, क्रुर, निर्धन, दीनदुःखी र परान्नमा निर्भर हुने गर्दछन् । कालसर्पयोगको उल्लेख धेरै प्राचीन ग्रन्थहरूमा भेटिएको छैन ।

यस प्रसङ्गमा राहुको आकार मुख र केतुको आकार पुच्छरका रूपमा विभाजित सर्पको जस्तो छ भनि कसैकसैले भनेका छन् भन्ने बराहमिहिरको लेखन विशेष स्मरणीय छ ।
कालसर्पयोग भन्ने नाम स्पष्ट उल्लेख नभए पनि प्रकारान्तरबाट बराहमिहिर, परासर, गर्ग आदिले सर्पयोगका विविध स्वरूपहरूका बारेमा चर्चा गरेको पाइन्छ । पछिल्लो समयमा सारावली, मानसागरी, जातकतत्व, भृगुसूत्र लगायतका ग्रन्थहरूमा यसबारेमा पर्याप्त चर्चा परिचर्चाहरू भएका छन् ।

राहु र केतु यी दुबै ग्रहलाई छायाँग्रह भन्ने गरिन्छ, किनभने आकाशमा यी दुबै ग्रहको भौतिक पिण्ड छैन। खगोलीय वृत्तमा जुन ठाउँमा सूर्य र चन्द्रमाको भ्रमणपथको काल्पनिक रेखाको मिलन हुन्छ, त्यस बिन्दुविशेषलाई राहु र केतु छायाँग्रह मानिन्छ ।

काल सर्प योग कुण्डली

सूर्यादि ग्रहहरू आ–आफ्ना भ्रमणपथमा भिन्नभिन्न गतिले भ्रमण गर्ने हुनाले पृथ्वीमा बसेर अवलोकन गर्नेहरूले सबै जसो ग्रहहरू एउटै अर्धवृत्तमा वा १८०˚ भित्र देख्ने परिस्थिति पनि समयसमयमा आइपुग्दछ । हामीले मान्दै आएका सूर्य, चन्द्र, मंगल, बुध, बृहस्पति, शुक्र र शनिलाई एउटै निश्चित बिन्दुबाट १८०˚ वा अर्धवृत्त भित्रै देखिने यस्तो विशेष अवस्था दुर्लभ नै हुन्छ ।

अझ छायाँग्रहका रूपमा मानिएका २ विन्दुहरू राहु र केतुको बीचमा माथि उल्लेखित सातै ग्रहहरू एकत्रित हुनु त झनै दुर्लभ हुन्छ । यही राहु र केतुको बीचमा सबै ग्रहहरू रहेको देखिने दुर्लभ परिस्थिति­विशेषलाई नै वास्तवमा कालसर्पयोग भन्ने गरिन्छ । सामान्यतः कालसर्पयोगको अवस्थालाई ज्योककतिषमा दुर्लभ र व्यवहारमा दुःखद मान्ने गरिन्छ ।

काल सर्प योग कुण्डली

मानिसको चिनामा सबै ग्रहलाई तपाईंको जन्मसमय, जन्मस्थान र त्यस समयको ग्रहगोचरको वृत्त संरचना गरी हेर्दा एउटा अर्धवृत्तभित्र सबै ग्रह पर्नु र त्यस अर्धवृत्तको प्रारम्भ विन्दु र अन्तिम विन्दुमा राहु (छायाग्रह) वा केतु (छायाग्रह) रहेको स्थिति नै कालसर्प योग हो । अर्को शब्दमा जब चिनामा भएका सबै ग्रहहरु राहु र केतु को बिचमा हुन्छन् अनि काल सर्प योग लाग्ने हुन्छ ।

मूलतः राहु–केतु भौतिक ग्रह नभएर आध्यात्मिक ग्रह हुन् । अतः यी दुबै ग्रहका सम्बन्धमा विशेष अध्ययन गर्नु नितान्त आवश्यक छ । वास्तवमा राहु र केतु दुबै ग्रहको हाम्रो कर्मगत फलसँग अति गहिरो सम्बन्ध छ । यी ग्रह जीवनका सूक्ष्मतम बिन्दुसँग असाध्यै नजिक छन्। यी दुबैको सोझो सम्बन्ध हाम्रो चेतनासित छ । त्यसैले राहु र केतु यी दुईवटै ग्रह आफ्नो प्रभाव देखाउन शीघ्रता गर्दछन् ।

कालसर्पयोगका आधारभूत पक्षहरू
वर्तमान समयमा काल सर्पयोगलाई अत्यन्त संयोगका रूपमा व्याख्या गर्ने गरेको पनि पाइएको छ, जसलाई समयमा नै नियन्त्रण गर्नु जरुरी छ । वास्तवमा कालसर्पयोगलाई ग्रह भ्रमणका क्रममा हुने एउटा गतिपरक योगका रूपमा लिई सोको समसामयिक विश्लेषण गरी उपचार गर्नु उचित हुन्छ ।

सामान्यतया देहायका अवस्थालाई मात्र कालसर्पयोग मान्नु पर्ने पर्दछ :
सबै ग्रहहरू राहु र केतुको बीचमा एकापट्टि मात्र रहेको वा परेको हुनुपर्दछ । यसबारेमा भनिएको पनि छ­यदि सबै ग्रहहरू वा केही ग्रहहरू राहु वा केतुका साथमा रहेको भएमा पनि अंशात्मक रूपमा राहु र केतुको बीचमा सबै ग्रहहरू परेकै हुनुपर्दछ ।
–राहुबाट आठौंंमा शनि परेमा पनि कालसर्पयोगको फल लागू हुन्छ ।
–चन्द्रमाबाट आठौं राहु वा केतु परेमा पनि यस्तै फल प्राप्त हुन्छ ।

कालसर्पयोगको फलका बारेमा चर्चा गर्दा, कुनै एउटा ग्रह राहु वा केतुको घेरा बाहिर परे पनि त्यसलाई आंशिक कालसर्प योग भनेर व्याख्या गर्ने गरेको पाइन्छ । तर वास्तवमा त्यस्तो बाहिर परेको ग्रहले कालसर्प योगको फल दुःखद बनाँउनबाट जोगाँउदछ । अतः यस किसिमको योग बनाएर बाहिर परेको ग्रहलाई पाश्चात्य ज्योतिषीहरू उपचारक वा बचाउने ग्रह ( Saving Planet) भन्ने गर्दछन् ।


राहु र केतुको गति सदैव उल्टो देखिने हुनाले लग्नमा राहु भएको अवस्थामा सातौंमा केतु हुन्छ । यस अवस्थामा अन्य सबै ग्रह १२, ११, १०,९ र ८ औं घरमा हुने परिस्थितिलाई वास्तविक कालसर्प योग भनिन्छ र राहुको बाटोमा सबै ग्रह रहने हुनाले यही स्थितिलाई नै मुखगत वा ग्रस्त कालसर्प योग पनि भन्ने गरिन्छ ।

माथि बताइएको स्थितिमा सबै ग्रह दृश्यभागमा रहने हुनाले यसैलाई उदित गोलाद्र्ध कालसर्पयोग पनि भन्ने प्रचलन छ । यसको ठीक विपरीत परिस्थितिलाई पृष्ठगत कालसर्प योग भनिन्छ ।
यस प्रसङ्गमा स्मरणीय छ कि कालसर्पयोगको गणना वा फलादेश गर्दा आधुनिक समयको अनुसन्धानबाट अस्तित्वमा आएका युरेनस, नेप्च्युन र प्लुटोलाई लिइएको छैन ।
(कालसर्प योगबारे थप चर्चा र जानकारी आगामी दिनमा गर्नेछौं कृपया हेदै गर्नुहोला ।)

कालसर्प योग सम्बन्धी सबै भ्रम, यथार्थ जानकारीका लागि यो भिडियो पूरै हेर्नुहोला ।