कोरला छेउमा ट्रक पल्टिदा १ गम्भीर घाइते

शनिबारबाट सुरु भएको नेपाल–चीन अन्तरदेशीय मेलाबाट निर्माण सिमेन्ट लोड गरेर लोमान्थाङतर्फ फर्कदै ट्रक दुर्घटना हुँदा १ जना गम्भीर घाइते भएका छन् । ग१ख ५५६० नम्बरको मालवाहक ट्रक शनिबार अपरान्ह ५ बजे लोमान्थाङ गाउँपालिका ४ स्थित नेचुङ खोलामा दुर्घटना भएको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी राजेन्द्रप्रसाद रेग्मीका अनुसार दुर्घटनामा परी लोमान्थाङ गाउँपालिका ३ ठिङ्गर बस्ने वर्ष ४९ का घ्याचो गुरुङ गम्भीर घाइते भएका छन् । घाइते गुरुङको टाउको र कम्बर पछाडिको भागमा गहिरो चोट लागेको छ ।
ट्रकमा सवार तनहुँको व्यास नगरपालिका १० का वर्ष २९ का विशाल क्षेत्री र ट्रकका चालक बागलुङ निसी गाउँपालिका ६ का वर्ष ३५ का श्यामलाल घर्तीमगर सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते भएका तीनै जनाको लोमान्थाङ स्वास्थ्य चौकीमा प्रारम्भिक उपचार भइरहेको सूचना अधिकारी रेग्मीले बताए । गम्भीर घाइते गुरुङलाई पोखरातर्फ लैजानै तैयारी भइरहेको छ । ब्रेक फेल भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।