ताजा समाचार

असार ७ गते २०७६

पत्रकार राजाराम पौडेल पुरस्कृत

पोखराका रंग पत्रकार राजाराम पौडेल पुरस्कृत भएका छन् । इभेन्टस् फर यु प्रालि र सारेगम इन्टरटेनमेन्ट हाउसको सहकार्यमा आयोजित छैटौं संस्करणको मिस एसइई पोखरा २०१९ को अन्तिम प्रतिस्पर्धा तथा द ग्राण्ड कन्र्सट एण्ड एजुकेशन फेयर २०७६ को अवसरमा उनलाई पुरस्कृत गरिएको हो ।

कान्तिपुर पब्लिकेसन्समा आवद्ध पत्रकार पौडेललाई रंगपत्रकारिताको माध्यमबाट रंगक्षेत्रलाई प्रवर्द्धन र सम्वर्द्धन गर्न योगदान दिएको भन्दै १० हजार ५ सय रुपैयाँ नगदसहित सम्मान गरिएको हो । उनलाई कर्णप्रिय गायक कर्णदास, कार्यक्रम संयोजक सुशिल नेपाली र इभेन्टस फर युका अध्यक्ष विशाल गुरुङले सम्मान गरे ।

चलचित्र पत्रकारसंघ कास्कीका उपाध्यक्ष तथा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका सचिव समेत रहेका पौडेल विगत १५ वर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील छन् । पौडेल हाल रेडियो अन्नपूर्णमा समेत आवद्ध छन् ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, उपाध्यक्ष विमला भण्डारीसहित आयोजक संस्थाका विशाल गुरुङ, सुशील नेपाली सहितको छनोट समितिले सिफारिस गरेको हो ।

कार्यक्रमका अवसरमा एचआइभी सक्रमित भएर विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर कीर्तिमानी राख्न सफल गोपाल श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।